बैंकबाटै सामाजिक सुरक्षा भत्ता वितरण

248

बघौडा क्षेत्रमा सनराइज बैंक सञ्चालनमा आएसँगै स्थानीयले ठूलो मात्रामा खातासमेत खोलेपछि पहिलोपटक बैंकबाटै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद साहले पहिलो पटक गाउँकै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको र सो गर्दा निकै खुसी लागेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले एक चौमासिकमा १ करोड ५४ लाख रूपैयाँ सामाजिक भत्ता वितरण गरिँदै आएको जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ताको पहिलो चेक बुझेका वृद्ध सलिम खाँले स्थानीय बैंकबाट नै पैसा पाउन थालेपछि निकै सजिलो भएको बताउँछन् । ‘विद्युत, इन्टरनेट नभएको ठाउँ, त्यसमा पनि लेखपढ गर्न जान्ने मान्छे नगण्य भएको ठाउँमा हामीले निकै कसरत गरेर बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको काम सम्भव बनाएका छौंं,’ अध्यक्ष साहले भन्नुभयो । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ ले समाजका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त, अपाङ्गता भएका नागरिकहरू एवम्म दलित बालबालिकाहरूले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान २०७२ को भाग ३ को धारा ४३ मा आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनी व्यवस्था गरेको छ । यसै अनृुरूप नरैनापुर गाउँपालिकामा विभिन्न श्रेणीका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । जनगणना २०६८ को नतिजा अनुसार यस नरैनापुर गाउँपालिकामा, ६० वर्ष उमेर नाघेका ७.५१ प्रतिशत (२६२५ जना) वृद्धवृद्धाहरू रहेका छन् । शारीरिक जीर्णताका कारण परिवारजनहरूको समेत पर्याप्त हेरचाह नपुग्ने यो समुदायको सामाजिक अवस्था अत्यन्त कष्टप्रद रहेको छ । राज्यको तर्फबाट ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकहरूलाई दिने बृद्ध भत्ता दिने व्यवस्था छ । यस गाउँपालिकामा अर्ध वृद्धावस्थाकै हाराहारीमा रहेको ६०–६४ वर्षको २.५६ प्रतिशत (८९५ जना) , ६५– ६९ वर्षका १.९० प्रतिशत (६६४ जना) र थप वृद्ध नागरिकहरूको लागि समेत राज्यले कुनै विशेष कार्यक्रम ल्याएको छैन । राष्ट्रिय जनगणना २०६८ अनुसार नरैनापुर गाउँपालिकामा अपाङ्गताको अवस्थालाई हेर्दा कुल जनसंख्याको १.४२ प्रतिशत (४९७ जना) अपाङ्गता रहेको छ । जसमा शारीरिक अपाङ्गता भएका १८८ (३७.८३ प्रतिशत), दृष्टि सम्बन्धी अपाङ्गता भएका ९५ जना (१९.११ प्रतिशत),श्रवण सम्बन्धी अपाङ्गता भएका ६० (१२.०७ प्रतिशत), स्वर बोलाई सम्बन्धी अपाङ्गता भएका ५० जना (१०.०६ प्रतिशत) देखिन्छन्, श्रवण र दृष्टिविहीन सम्बन्धी अपाङ्गता भएका १९ जना (३.८२ प्रतिशत), बौद्धिक अपाङ्गता भएका २९ जना (५.८४ प्रतिशत) रहेको देखिन्छ । साथै मानसिक अपाङ्गता ३९ जना (७.८५ प्रतिशत) र बहुअपाङ्गता २९ जना (५.८४ प्रतिशत) रहेका छन् । लैङ्गिक हिसाबले हेर्ने हो भने यस गाउँपालिकामा अपाङ्गता भएका पुरुषको सङ्ख्या ३०६ जना छन् भने अपाङ्गता भएका महिलाको सङ्ख्या १९१ जना रहेको छ । यी वृद्ध, अपाङ्ग बालबालिकाले सामाजिक सुरक्षा रकम बुझ्दै आएका छन् ।

नरैनापुर गाउँपालिकाका ६ वटै वडामा सामाजिक सुरक्षा भत्ता पाउनेहरू दुई हजार ६५२ जना रहेका छन् । जसमा दलित बालबालिका सुरक्षा भत्ता, अति अशक्त अपाङ्गगता भत्ता, पूर्ण अपाङ्गगता भत्ता, विधवा भत्ता, एकल महिला भत्ता, ज्येष्ठ नागरिक दलित भत्ता, ज्येष्ठ नागरिक भत्ता वितरण हुने गरेको छ । चार चार महिनामा गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । सामाजिक सुरक्षा रकममा नरैनापुर गाउँपालिकामा झण्डै ३ करोड १८ लाख २४ हजार बराबर रकम वितरण हुने गरेको छ ।

Womui
Womui