सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ९९ रुपैयाँमा फोन र इन्टरनेटको असीमित सुविधा

51

मालती ओली
काठमाडौं– सार्वजनिक विद्यालयका अध्ययन गर्ने विद्यार्थीले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण घरबाटै अध्ययन गरिरहेका विद्यार्थीलाई नेपाल टेलिकमले यस्तो सुविधा दिन थालेको हो ।

कम्पनीको क्लोज यूजर गु्रप (सियूजी) मा आबद्ध गरी मासिक ९९ रूपैयाँमा असीमित कुराकानी गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । साथै, भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइनेछ । अनलाइनमा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुनेछ । मासिक ९९ रुपैयाँमा भ्याट, टीएससी, ओटी कर थपिने नेपाल टेलिकमले जनाएको छ ।

सो प्रिपेड सिमकार्डबाट शिक्षक–विद्यार्थी र अभिभावकबीच असीमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल निःशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिनेछ ।कर्पोरेट युजर ग्रुप बनाउने प्रयोजनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड तथा सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गर्ने, प्रत्येक विद्यालयका यी फोन नम्बरलाई सीयूजी सेवामा आवद्ध गराइने छ । यो सेवा वापतको शुल्कमा नेपाल टेलिकमलाई हुने घाटामा नेपाल सरकारले अनुदान दिने छ । यस सेवाको लागत नेपाल सरकार, प्रयोगकर्ता र सेवा प्रदायकले साझेदारीमा व्यहोर्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । यदि कुनै विद्यालयका विद्यार्थी, शिक्षक र परिवारको एक सदस्यसँग नेपाल टेलिकमको सिम नभएको अवस्थामा माग बमोजिम कम्पनीले सिम निःशुल्क उपलब्ध गराउने छ ।

Womui
Womui