साग पदक विजेतालाई डुडुवाद्वारा सम्मान

89

बाँके(डुडुवा)– १३ औ दक्षिण एसियाली खेलकुद सागमा रजत पदक प्राप्त गर्ने डुडुवा गाउँपालिकाका दुई जना खेलाडी र दुई जना कोचलाई बुधबार नगद पुरस्कारसहित सम्मान गरिएको छ । २०७६ मंसिरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सागमा डुडुुवा गाउँपालिका वडा नम्बर ५ का सुशीला चन्द र निर्मला घर्तीमगरले रजत पदक प्राप्त गरेको र कोच खेलाडी पदमबहादुर बुढाथोकी र मुम्ताज अलीले खेलको माध्यमले गाउँपालिकाको नाम चिनाउन सफल भएकोमा उनीहरुलाई सम्मान गरिएको हो ।

गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी दुवैजना खेलाडीलाई दोसल्लासहित कदर पत्र र जनही नगद ५० हजार रुपैयाँका दरले सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए । चारैजना खेलाडीलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नगदसहित सम्मान गरेका थिए ।
खेलाडीलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष चौधरीले खेलकुदको माध्यमबाट राष्टियस्तरमा नै गरिमा बढाएको र डुडुवाको नामसमेत चिनाएको भन्दै खेलाडीको थप हौसला तथा उत्प्रेरणा जगाउन सम्मान गरेको बताए । उनले भने–‘यो सम्मानले यहाँका थप स्थानीय खेलाडीहरुको उत्प्रेरणा बढाउनमा मद्दत गर्दछ ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, शिक्षा तथा खेलकुद शाखा प्रमुख संजयकुमार कर्णलगायतको सहभागिता रहेको थियो ।

Womui
Womui