खेलकुदको ‘पकेट क्षेत्र’ राप्ती सोनारी

150

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत महिला भारोत्तोलन खेलाडी सञ्जु चौधरीले स्वर्ण पदक जितेको खबर सुन्दा बाँके राप्तीसोनारी गाउँपालिका–१ बैरियाका तेजबहादुर सुवेदीलाई आफैले स्वर्ण जिते झै लाग्यो । एउटा खेलाडीको नाताले मात्र होइन् सुवेदी भन्छन्,‘आफ्नै गाउँपालिका त्यो पनि छिमेकी गाउँकी चेलीले अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि उचल्दा गर्भले छाती नफुलिने कुरै भएन् ।’ सुवेदी राष्ट्रिय भलिबल खेलाडी हुन् । भारोत्तोलना उपाधि उचाल्ने चेली बैजापुरकी हुन् । कुसुमेश्वर माविमा शिक्षक छँदा सुवेदीले विद्यालयलाई ६ पटक वीरेन्द्र रनिङ शिल्डको उपाधि दिलाए । पूर्व खेल शिक्षक सुवेदी त्यतिबेलै वीरेन्द्र शिल्ड प्रतियोगितामा बैजापुरबाट प्रतिनिधित्व गर्ने सञ्जुको खेल कौशलबाट प्रभावित थिए । उनी सम्झन्छन्,‘सञ्जु त्यतिबेला एथ्लेटिक्सकी खेलाडी थिइन् । एथ्लेटिक्समा उनले थुप्रै उपाधि जितिन् । निकै बलियो थिइन् । पछि उनले ट्रयाक चेन्ज गरिन र भारोत्तोलन खेलाडीबाट आफ्नो नाममात्र नभएर बाँके र देशलाई नै अन्तर्राष्ट्रिय भूमिमा चिनाउन सफल भइन् ।’

बैजापुरकै बालकृष्ण चौधरीको कीर्तिमानी अहिलेसम्म कसैले तोड्न सकेको छैन । हाइजम्पमा चौधरीको कीर्तिमानी लोभलाग्दो छ । सञ्जु त खेल मैदानमै छिन् तर बालकृष्ण भने अहिले मैदान छाडिसकेका छन् । पूर्णिमा खड्का र विष्णा कुमाल पछिल्लो पुस्तामा चर्चामा छन् । विष्णा खेलकुदबाटै नेपाल पुलिस क्लबमा अनुबन्धन भइसकेकी छिन् । राप्तीसोनारी–१ कुसुमकी विष्णा ८ सय र १५ सय मिटर दौडमा र सौरीकी पूर्णिमा ४ सय र ८ सय मिटर दौडमा जिल्लाकै उत्कृष्ट हुन् । पूर्णिमाले त राष्ट्रिय प्रतियोगितामै स्पर्धा गरिसकेकी छिन् । राप्तीसोनारी खेलकुदको ‘पकेट क्षेत्र’ भएको सुवेदी बताउँछन् । ‘प्रशिक्षण, खेल सामग्री र मैदानको अभावकाबीच खेलाडीको एक्लो प्रयासले खेलकुदका क्षेत्रबाट नेपालको झण्डा अन्तर्राष्ट्रिय मैदानमा फहराउनु चानचुने कुरा होइ्न,’ सुवेदी भन्छन् ।

राप्तीसोनारी गाउँपालिका खेलकुदको उर्वरभूमि हो । रनिङ सिल्ड प्रतियोगितामा रमा भण्डारी र तुलसा खड्काको कुनैबेला जिल्लामा दब्दबा नै थियो । भलिबलमा भण्डारी र खड्काले तात्कालीन मध्यपश्चिमबाट राष्ट्रिय प्रतियोगिताका लागि धेरैपटक प्रतिनिधित्व गरेको स्मरण गर्दै क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का पूर्वउपाध्यक्ष नरेन्द्र थापाले भने,‘राप्तीसोनारीले धेरै खेलाडी जन्माएको छ ।’ रितेश खड्का ए डिभिजन क्लवबाट फुटबल खेलिसकेका खेलाडी हुन् । उनी पनि राप्तीसोनारी स्थित फत्तेपुरका हुन् । राप्तीसोनारीमा पनि फत्तेपुर, बिनौना, बैजापुर, कचनापुर र कसुम बैरियाबाट धेरै खेलाडी उत्पादन भएका छन् । ‘खेलकुदको ठूलो सम्भावना छ, पूर्व खेल शिक्षक सुवेदी भन्छन्,‘त्यहीँ अनुसार स्थानीय सरकारले लगानी बढाउनु प¥यो र खेलकुदका विभागहरूलाई चलाएमान गराउनु प¥यो ।’

खेलाडी उत्पादनको सबैभन्दा ठूलो पक्ष भनेकै खेल सामग्री, मैदान र प्रशिक्षकको सहज उपलब्धता हो । विगतका वर्षभन्दा खेलकुदप्रतिको बुझाइ केही हदसम्म फराकिलो भएको छ । जुन पक्षलाई हुनु पर्ने हो, त्यो पक्षलाई भने अझै हुन सकेको छैन । स्थानीय सरकारले अब विद्यालयदेखि नै खेल गतिविधि बढाउन जरुरी छ, पूर्वउपाध्यक्ष थापाले भने,‘त्यसको लागि विद्यालयमा खेल शिक्षक राख्नु प¥यो । खेलकुद सामग्री र मैदानको व्यवस्थापन गर्नु प¥यो । खेलाडीलाई खेलकुदमा सम्भावना देखायो भने न, खेलाडी खेलकुदप्रति प्रेरित हुने हो, न कसरी खेलाडी उत्साही हुन्छन् ?’ थापाको भनाइमा राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष जनक चौधरी पनि सहमत छन् । ‘जबसम्म खेलकुदका गतिविधिहरू चलाएमान बनाउन सकिँदैन तबसम्म न खेलकुदको विकास हुन्छ न त खेलाडीको । उनले भने,‘ त्यसैले वडाले ‘वडाकप’को तयारी गरेको छ ।’ वडा नं. ६ मात्र होइन राप्तीसोनारी गाउँपालिकाका अधिकांश वडाहरूले खेलकुद क्षेत्रको बजेट विनियोजन गरेर खेलकुद गतिविधिहरूलाई सक्रिय बनाउँदै लगेका छन् । स्थानीय क्लब तथा समूहसँग सहकार्य गरेर उनीहरूले खेलकुदका गतिविधिहरू बढाउँदै लगेको गाउँपालिकाका खेलकुद तथा शिक्षा विकास शाखा प्रमुख जीवन न्यौपानेले बताए ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा बाह्रौं राष्ट्रपति कप रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता ग¥यो । गत पुस २५–२७ सम्म वडा नम्बर ८ बालापुरमा भएको प्रतियोगितामा आधारभूत तहका ३७ वटा र माध्यामिक तहका २१ वटा विद्यालयले सहभागिता जनाए । कूल ६ लाख ५५ हजार रूपैयाँमा सम्पन्न भएको उक्त प्रतियोगिताका लागि गाउँपालिकाले ४ लाख बजेट उपलब्ध गराएको थियो । अन्य रकम भने वडा नं. २, ८ र ९ ले प्रदान गरेका थिए । खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले पालिकाले खेलक्षेत्रलाई प्राथमिकतामा राख्दै गएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । पालिकाले चालू आर्थिक वर्षका लागि गाउँपालिकाले २२ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट ९ वटा वडालाई दुई÷दुई लाखका दरले १८ लाख वडालाई र ४ लाख राष्ट्रपति कप रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिताका लागि खर्च गरिएको छ । ‘खेलकुदका गतिविधिहरू ग्रामीण क्षेत्रमा चलायमान होस् भनेर वडामै हामीले बजेट दिएका छौं,’ गाउँपालिकाका अध्यक्ष थारुले भने,‘खेलकुदको खस्कँदो साख जोगाउन ठोस योजना र कार्यक्रम ल्याउन जरुरी छ, त्यसका लागि पालिका प्रतिबद्ध छ ।’

Womui
Womui