बाँकेमा गाउँपालिका र क्याम्पस बनाउने भन्दै वन फँडानी

159

नेपालगन्ज– गाउँपालिका र क्याम्पस बनाउने भन्दै बाँकेमा वन फँडानी भएको छ ।  बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा ब्यापक वन फँडानी भएको हो ।

गाउँपालिका र क्याम्पस बनाउने भन्दै सामुदायिक वन समूहले अनुमति नै नलिएर केही समयअघि करिब एक बिघा क्षेत्रफलमा रहेका सिसौंलगायत बहुमूल्य प्रजातिका रुख,  बिरुवा अवैध रुपले काटेको छ । सामुदायिक वनले फँडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिकाले आफ्नो कार्यालय स्थापना गर्ने तयारी गरेको छ। उक्त समूहले डिभिजन वन कार्यालयसँग कटान आदेश तथा स्वीकृति  नलिएर अवैध रुपमा रुख काटेको पाइएको छ।

कोरोना भाइरस महामारीको मौका छोपेर अवैध रुपमा काटिएका ठूलो परिमाणका रुख, विरुवालाई समूहले बिक्री, वितरण गरिसकेको बुझिएको छ। करिव साढे ६ सय उपभोक्ता रहेको उक्त समूहले यसअघि भेलामार्फत बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ विघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेको थियो।  स्थानीय बासिन्दाका अनुसार वन समूहले गरेको उक्त निर्णयलाई कार्यान्वयन गर्न सम्भव भने थिएन। किनकी त्यहाँ वर्षौ अघिदेखि रुख, विरुवा हुर्किदै आएका थिए। गाउँपालिका र क्याम्पसलाई भौतिक संरचना बनाउन दिने निहुँमा उपभोक्ता समूहले अहिले आएर अवैध कटान गरेको हो।

सामुदायिक वन क्षेत्रमै खुल्ला चउर, जग्गा पर्याप्त मात्रामा भएपनि वन समूहले रुख, विरुवा भएकै ठाउँलाई छुट्याएको थियो ।

Womui
Womui