राप्तीसोनारीमा ठेकेदार कम्पनीले बिद्युतीकरणको काम अलपत्र पारेपछि …

118

बाँके(राप्तीसोनारी)- राप्तीसोनारी गाउँपालिकामा ठेकेदार कम्पनीले विद्युतीकरणको काम अलपत्र पारेपछि नेपाल बिद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगन्जको ध्यानाकर्षण गराइएको छ । साविक बैजापुर र नरैनापुर गाविसमा बिद्युतीकरण गर्न ‘उष्मा/गौरी पार्वती जेभी’ नामक ठेकेदार कम्पनीले २०६९ चैत २१ गते सम्झौता गरेपनि अहिलेसम्म बिद्युतीकरणको काम अलपत्र अवस्थामा रहेको छ । बिद्युत नहुँदा राप्तीसोनारीका धेरै गाउँ अन्धकारमय बनेकाले आइतबार राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको नेतृत्व टोली प्राधिकरण कार्यालय नेपालगन्ज पुगेर ध्यानाकर्षण गराएको हो ।

उक्त टोलीले प्राधिकरणको ध्यानाकर्षण गराउँदै राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गर्न समेत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । ठेक्काको म्याद गुज्रिए पनि प्राधिकरणले यी ठाउँमा बिद्युतीकरणको काम सुरु गर्न सकेको छैन । उष्मा/गौरी पार्वती जेभीले कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाइन बिस्तारको काम अलपत्र पारेपछि प्राधिकरणले गत वर्ष ठेक्का तोडेर आफै काम सम्पन्न गरेको थियो । विगतमा प्रशारण लाइनको ठेक्का तोडेपनि प्राधिकरणले अहिले साविक बैजापुर गाविस (हाल राप्ती सोनारी वडा नम्बर ३ र ४) को ठेक्का तोड्न अहिले आनाकानी गरेर काममा विलम्व गरिरहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । प्राधिकरणले राप्तीसोनारीको वडा नम्बर ५ मा भने छुट्टै ठेक्कामार्फत बिद्युतीकरणको काम अन्तिम चरणमा पुर्‍याएको छ । तर, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ मा भने पुरानो ठेक्का नतोडिँदा प्राधिकरणले अझै हात हालेको छैन । ‘प्राधिकरणले वडा नम्बर ५ मा बिद्युतीकरणको काम अन्तिम चरणमा पुर्‍याएकोमा म गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु, तर वडा नम्बर ३ र ४ मा अहिलेसम्म बिद्युतीकरणको काम सुरु नहुँदा जनताको आक्रोश धेरै छ, त्यसकारण प्राधिकरणले राप्तीसोनारीका ३ वटै वडामा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गरोस्, मेरो विशेष आग्रह छ,’ अध्यक्ष थारुले भने । प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर समक्ष अध्यक्ष थारुले कोहलपुर–धामपुर मुख्य प्रशारण लाइनको ठेक्का तोडेको नजिर प्राधिकरणमा ताजै रहेकाले राप्तीसोनारीको ३ र ४ मा अलपत्र कामको ठेक्का तोड्न ढिलाइ गर्न नहुने सुझाव दिएका छन् ।

सो क्रममा प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका प्रमुख ठाकुरले साविक बैजापुर र नरैनापुर गाविसमा लागेको ठेक्काको म्याद समाप्त भइसकेपनि अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले तत्काल हात हाल्न समस्या रहेको बताए । ‘यो ठेक्का कहिलेसम्म तोडिन्छ, अहिले नै भन्न सक्ने स्थिति छैन, म बिद्युत प्राधिकरणको चिफ हुन्थे भने भन्न सक्थ्ये, तर यसबारे अहिले केही भन्न सक्दैन,’ ठाकुरले भने ‘ठेक्का तोडिने बित्तिकै काम थाल्न त समस्या नै छैन ।’

ठेकेदारले बिद्युतीकरणको काम अलपत्र पारेपछि राप्तीसोनारी गाउँपालिका आफैले वडा नम्बर ३ बाट गतवर्षदेखि नै बिद्युतीकरणको काम थालिसकेको छ । गाउँपालिकाले गत वर्ष बिद्युतीकरणका लागि २०७६/०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको बजेटबाट वडा नम्बर ३ का अधिकांस गाउँमा पोल गाड्ने र तार तान्ने काम सम्पन्न भइसकेको अध्यक्ष थारुका स्वकीय सचिव सन्तोष चौधरीले जानकारी दिए । ‘वडा नम्बर ३ का अधिकांश गाउँमा पोल गाड्ने र तार तान्ने काम सम्पन्न भइसकेको छ,’ उनले भने ‘अब ट्रान्सफर्मर मात्रै राख्ने काम छ, बिद्युत प्राधिकरणबाट हुनुपर्ने प्राविधिक काम अधुरो छ, हामीले ट्रान्फर्मरको कुरा गर्दा प्राधिकरण वडा नम्बर ३ र ४ मा पस्नै चाहन्न ।’ प्राधिकरण आफूले वडा नम्बर ३ र ४ मा बिद्युतीकरणको काम गर्न नसकेको र गाउँपालिकाले गर्न थालेको काममा पनि असहयोग गरिरहेको चौधरीको गुनासो छ । डेलिगेशनका क्रममा गाउँपालिका अध्यक्ष थारुसहित वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, समाजसेवी हेमकुमार डाँगी, कुसुम ग्रामीण बिद्युत सहकारी संस्थाका अध्यक्ष यमबहादुर खड्का, कोषाध्यक्ष गेहेन्द्रकुमार खड्का, गाउँपालिका अध्यक्षका स्वकीय सचिव सन्तोष चौधरी, कांग्रेसका युवा नेता कमल कार्कीलगायतको सहभागिता रहेको थियो ।

Womui
Womui