इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना होः अध्यक्ष थारु

189

बाँके (शमशेरगन्ज)– इमानदारिता र लगनशीलता नै निजामति कर्मचारीको बहुमूल्य गहना हो । त्यसैले निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाब मात्र लिनु हुँदैन । जागिरलाई जिम्मेवारीका हिसाबले लिन सके जनताको नजरमा कर्मचारीको मानसम्मान बढ्ने मात्र नभई समग्र संस्थाको विकास हुने राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् । १६ औं निजामति सेवा दिवसका अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले जुनसुकै तह र तप्काका कर्मचारीले पाएको जिम्मेवारीलाई लगनशील र इमानदार भएर निर्वाह गरे कर्मचारीको मात्र नभएर समग्र राप्ती सोनारी गाउँपालिकाको विकासमा कोसे ढुंगाको काम गर्ने बताएका छन् ।

राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक गरिएको निजामति सेवा दिवस कार्यक्रमका अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष थारुले नीति र नियममा रहेर सेवाग्राहीलाई सन्तुष्ट गर्ने किसिमले कर्मचारीले सेवा प्रवाह गर्नु पर्ने सुझाएका छन् । सबै सेवाग्राही पढेलेखेको नहुने भएकाले गाउँपालिकाले दिने सेवा सुविधाबारे यथेष्ट जानकारी दिएर सेवा प्रवाह गर्नु कर्मचारीको प्रमुख दायित्व भएको अध्यक्ष थारुले बताए । अध्यक्ष थारुका अनुसार त्यति मात्र नभएर अनुशासन नै निजामति कर्मचारीको पहिलो कर्तव्य भएकाले कर्मचारीले नेपाल सरकारबाट निर्देश गरेको नियम कानुनलाई हुबहु पालना गर्नु पर्नेमा जोड दिए ।

अनुशासन र काम ठूलोः प्रमुख प्रशासकीय अधिकृत बस्नेत

१६ औं निजामति सेवा दिवस कार्यक्रमका अध्यक्ष रहेका राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले निजामति कर्मचारीको अनुशासन र काम नै ठूलो भएको बताए । निजामति जागिर खान घुँडा टेकेर मेहनत गर्नु पर्ने स्मरण गर्दै उनले यसरी मेहेनत गरेर प्राप्त गरेको फललाई त्यत्तिकै व्यर्थमा फाल्न हुने बताएका छन् । अनुशासन र कामले नै मानिसलाई चिनाउने भएकाले साना तिना कुरामा अल्झिएर कडा मेहनत पश्चात् प्राप्त फललाई व्यर्थमा फाल्न नहुने बताएका छन् । नेपाल सरकारबाट प्राप्त नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएकाले अन्य कुरामा नअल्झिएर सेवाग्राहीलाई चुस्त र दुरुस्त तवरले सेवा दिनु पर्ने कर्मचारीलाई सुझाएका हुन् । त्यस्तै सोही अनुरुप सरकारबाट निर्दिष्ट कर्मचारी अनुशासनको पालना गर्नु पनि कर्मचारीको प्रमुख कर्तव्य भएको प्रमुख बस्नेतले बताए ।

Womui
Womui