जनताको समस्या बुझ्न जनप्रतिनिधि पुगे घरदैलोमा

242

बाँके (शमशेरगन्ज)–राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधि जनताको घरदैलोमा पुगेका छन् । पछिल्लो समय गाउँपालिकामा भएका गतिविधिबारे जनताको राय र समस्या बुझ्न उनीहरु घरदैलोमा पुगेका हुन् ।

बिहीबार गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा वडा नम्बर ४ का वडा अध्यक्ष कान्छा थारु, वडा सदस्य कर्ण बिकलगायतको टोली वडा नम्बर ४ स्थित परसोहना पुगेका छन् । त्यहाँ पुगेका जनप्रतिनिधिले स्थानीयसँग पछिल्लो समय वडामा भएका विकास निर्माणबारे जानकारी लिएका थिए । सो क्रममा गाउँपालिका र वडा कार्यालयले छनोट गरेका योजनाका विषयमा समेत जनताको राय सुझाव लिइएको गाउँपालिका अध्यक्ष थारुले बताए । गाउँवस्तीबाटै योजना छनोट भएर आए पनि त्यस विषयमा विस्तृत रुपमा छलफल एवम् सल्लाह लिनका लागि प्रतिनिधि त्यहाँ पुगेको अध्यक्ष थारुको भनाइ छ । त्यहाँ पुगेका जनप्रतिनिधिले जनताको समस्याका बारे पनि सुझाव संकलन गरेका थिए ।

चुनावका बेला मात्र घरदैलो कार्यक्रममा हिँड्ने जनप्रतिनिधि वडामा भएका विकास निर्माण र जनताको समस्यालगायत कसरी जनताको प्रत्यक्ष लाभ हुने काम गर्न सकिन्छ भनेर चासोसाथ टोलटोलमा देखेपछि खुसी लागेको स्थानीय हरिभक्त ओलीले बताए । पछिल्लो समय संघीय संरचनापश्चात् निर्वाचित जनप्रतिनिधि आएपछि विकासे गतिले आफ्नो टोलमा धेरै फड्को मारेको बताउँदै उनले भने,‘ यसरी जनप्रतिनिधिले प्रत्यक्ष रूपमा गाउँटोलमा भएका विकास निर्माणका कामबारे चासो राख्ने हो भने बाटोघाटो लगायतका विकास निर्माण हाम्रो घरदैलोमै पुग्न धेरै समय कुर्नु पर्दैन् ।’

जनप्रतिनिधिलाई प्रत्यक्ष आफ्नै घरदैलोमा चिन्ता र चासोसाथ आएको देख्दा छुट्टै किसिमको उत्साह थपिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार चुनावका बेला मात्र घरदैलोमा पुग्ने अन्य ठाउँका जनप्रतिनिधिको तुलनामा राप्ती सोनारीका जनप्रतिनिधि फरक रहेको कुरा गर्वसाथ सुनाउँछन् । जनताको घरदैलोमा पुगेर भर्खरै वडास्तरबाट छनोट भएका विकास योजनाबारे राय सुझाव लिएको वडा नम्बर ४ का वडा अध्यक्ष कान्छा थारुले बताए । वडाध्यक्ष थारुका अनुसार आफूहरु त्यहाँ पुगेपछि जनताले स्वूफूर्त रुपमा आफ्ना धारणा राखेका थिए । यसरी जनताबाट संकलित राय सुझावलाई आत्मसात् गरेर वडाको कार्ययोजनालाई अगाडि बढाउने वडाध्यक्ष थारुले प्रतिबद्धता जनाएका छन् ।

Womui
Womui