बिरामीबिनै पढाइन्छ डाक्टरी

42

काठमाडौ, भदौ २३–
भदौ पहिलो साता नेपाल मेडिकल काउन्सिलको टोली अनुगमनका लागि अस्पताल पुग्दा जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका बेड बिरामीले भरिभराउ थिए । नर्स र रेजिडेन्ट चिकित्सकलाई अघिल्लै दिनदेखि बिरामीको विवरण उतार्न भ्याइनभ्याइ थियो । टोलीले अस्पतालको कुल शकक्ढयाको ६० प्रतिशतभन्दा बढी बेड (बेड अकुपेन्सी) भरिएको अनुगमन रिपोर्ट दियो । त्यही आधारमा कलेजको एमबिबिएस कोटा निर्धारण भयो । काउन्सिल अनुगमनको २० दिनपछि मंगलबार बिहान ८ बजे कलेज अस्पतालको दृश्य भने रिपोर्टको ठिक उल्टो थियो । त्यहाँ डाक्टरी विद्यार्थी बढी देखिए, बिरामी र कुरुवाको खासै चहलपहल थिएन । यसबाट प्रस्ट हुन्छ– अनुगमन क्रममा बेड भरिभराउ पारिएका व्यक्ति बिरामी होइन, नक्कली थिए जो अनुगमन टोली गएपछि आ–आफ्ना बाटो लागे ।

२१ वर्षदेखि सञ्चालित यस कलेजले वर्षौदेखि यसैगरी नक्कली बिरामी देखाएर मापदण्ड पूरा गरेको रिपोर्टका आधारमा डेढ सय विद्यार्थी भर्ना कोटा टिकाउँछ । सत्याग्रही डा. गोविन्द केसीसँग सरकारले पछिल्लोपटक गरेको ११ बुँदे सम्झौता कार्यान्वयन नभए यो जालझेल कायम रहिरहने देखिन्छ । मंगलबार नागरिकले कलेजमा रहेका केही इन्टर्न, रेजिडेन्ट र फ्याकल्टीको समेत सहयोगमा अस्पतालका प्रमुख विभागहरुको भ्रमण गरेको थियो । ती विभागमा पोस्टिङ भएका चिकित्सक र ’बेड अकुपेन्सी’ हेर्दा मुस्किलले २० देखि ३० प्रतिशत मात्र भरिएको भेटियो जुन मापदण्डभन्दा अति न्यून हो । केही वर्षअघिसम्म ७० प्रतिशत ’बेड अकुपेन्सी’ हुनुपर्ने प्रावधान रहेकामा काउन्सिलले मापदण्ड परिमार्जनका नाममा ६० प्रतिशतमा झारेको थियो। काउन्सिलको नयाँ मापदण्डअनुसार उक्त सिट कोटामा मेडिकल कलेज चलाउने अस्पतालमा ७ सय ५० बेड हुनुपर्छ र प्रत्येक विभागमा ६० प्रतिशत बेड भरिएको हुनुपर्छ ।

काउन्सिलले शिक्षण सिकाइका लागि बिरामीको उपस्थिति र विभिन्न प्रकारका केस भएका अस्पतालमै प्रभावकारी हुने भन्दै यस्तो मापदण्ड बनाएको छ । मेडिकल शिक्षामा बिरामीलाई सकेसम्म कम दुःख दिएर वरिष्ठ मातहत चिकित्सकले आफैं सिप हासिल गर्नुपर्छ । यस कलेजमा भने सबैभन्दा बढी रेजिडेन्ट चिकित्सक अध्ययनरत र इन्टर्न चिकित्सकको समेत पोस्टिङ भएका विभागमै बिरामीको संख्या एक चिकित्सक बराबर एक जना बिरामी पनि नपुग्ने देखियो आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui