कटानको उच्च जोखिममा कचनापुर (फोटो फिचर)

79
राप्ती नदीले कटान गरिरहेको क्षेत्र अवलोकन गर्दै स्थानीयका साथमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अध्यक्ष मदन कुमार ओली ।
राप्ती नदीले कटान गरिरहेको क्षेत्र अवलोकन गर्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अध्यक्ष मदन कुमार ओली लगायत ।

शमशेरगन्ज–बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित कचनापुरलगायतका नदी छेउमा पर्ने वस्ती कटानको उच्च जोखिममा रहेका छन् । बर्षातको समयमा राप्ती नदीमा उर्लेर आउने बाढीले बर्सेनि स्थानीयको दशौं विघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । बर्सेनि बाढीले खेतीयोग्य जमिन कटान गरे पनि स्थानीय टुलुटुलु हेर्न बाध्य छन् । यसरी वर्षातको समयमा उर्लेर आएको बाढीले कचनापुर, टिकुलीपुर, मदुई, हरिहरपुर, राजपुर, शम्शेरगन्जका खेतीयोग्य जमिन बर्सेनि कटान त गरिनै रहेको छ भने अर्कोतर्फ ती वस्तीसमेत कटानको उच्च जोखिममा रहेका छन् ।

विगत दुई–तीन दिनको अवधिमा राप्तीमा आएको बाढीले स्थानीयको करिब ५–६ विघा जमिन नदीले कटान गरेको वडा नम्बर २ का वडाअध्यक्ष मदन कुमार ओलीले बताए । वडाअध्यक्ष ओलीका अनुसार यही अनुपातमा राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्ने हो भने केही वर्षमै नदी छेउमा रहेका पूरै बस्ती राप्ती नदीमा परिणत हुनेछन् । आजभोलि वडाध्यक्ष ओलीको दिनचर्या नदीले कटान गरिरहेको जमिन हेर्नमै बित्ने गरेको छ । राप्ती नदीले कटान गरिरहेको जमिनको दिनहुँ अवलोकन गरे पनि स्थानीयलाई सान्त्वना दिनुबाहेक केही उपाय आफूसँग नभएको उनले बताए । विगत ३–४ वर्षदेखि अहिलेसम्म करिब ३० विघा जमिन नदीले कटान गरिसकेको बताउँदै वडाध्यक्ष ओलीले भने,‘ यसरी स्थानीयको जमिन कटान हुँदा चिन्ता गर्नुबाहेक केही विकल्प छैन ।’ एडीबीको सहयोगमा सन् २०२१ बाट पक्की तटबन्धको काम सुचारु हुने गरी डिपीआर र आइइईसमेत भइसकेको छ । २०२१ मा पक्की तटबन्ध निर्माण हुने भए पनि हालसालको वर्षाले अझै दशौ विघा जमिन कटान गर्ने अनुमान वडाध्यक्ष ओलीको छ ।

यसैबीच उक्त क्षेत्रको गाउँपालिका अध्यक्ष लाहुराम थारुले पनि पटक पटक अनुगमन गरेका छन् । अनुगमनका क्रममा तीव्र गतिले भइरहेको जमिन कटानका कारण वस्तीसमेत जोखिममा परेको निश्कर्ष निस्किएको अध्यक्ष थारुले बताए । एडीबीको सहयोगमा २०२१ बाट पक्की तटबन्ध बन्ने भए पनि तबसम्म धेरै जमिन कटान हुने भएकाले छिटो भन्दा छिटो तटबन्धको काम सुरु गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको अध्यक्ष थारुले बताए ।


नदी कटानको दृश्यावलोकन गर्दै स्थानीय ।
Womui
Womui