‘न्याय हेरेस्, मान नहेरेस्’

319

राप्ती सोनारी गाउँपालिका क्षेत्रफलको हिसाबले होस् वा प्राकृतिक स्रोतसाधनका हिसाबले, बाँके जिल्लाका अन्य गाउँपालिकाका तुलनामा समृद्ध गाउँपालिकाका रूपमा परिचित छ । सोही गाउँपालिकाको विकास निर्माण, पूर्वाधार निर्माण, उत्पादनमूलक कार्यलगायत कुनै पनि प्रकारका सकारात्मक विकासका लागि सदैव इमान्दारितापूर्वक समझदारीका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकी छिन्, गाउँपालिकाकी मिजासिली उपाध्यक्ष धनीकुमारी खत्रीले । सदैव मानिसमा दिमागको समझदारी, काँधको जिम्मेवारी र छातीको इमानदारी हुनुपर्छ भन्ने खत्रीको मान्यताले उनलाई गाउँपालिकाको प्रेरणादायी पात्रको रूपमा खडा गरेको छ । सबैसँग हासीखुसी बोलिरहने खत्री गाउँपालिकाका सबै मेरा आफन्त हुन भन्ने गर्दछिन् । जुनसुकै वर्ग, पेसाका व्यक्तिहरूसँग खुलेर कुरा गर्ने खत्री गाउँपालिकाको सेवा गर्न पाउँदा धेरै नै आनन्द लाग्ने बताउँछिन् । उमेरले ६६ वर्ष पुगे पनि खत्रीमा युवा अवस्थाको जोस जाँगर देख्न सकिन्छ ।

२०११ सालमा बुबा मोतिलाल डाँगी र आमा तुलसा डाँगीको कोखबाट सल्यान जिल्लाको साबिक दमाचौर गाविस वडा नम्बर ७ डिग्रेमा जन्मिएकी उपाध्यक्ष खत्री शिक्षालाई बहुमूल्य ज्योतिमा रूपमा मान्ने गर्दछिन् । हरेक मानिस शिक्षित हुनुपर्ने भन्ने उनको मान्यता रहेको छ । ‘शिक्षाले मानिसमा नियम कानुन, सही गलतको बोध गराउँछ,’ उपाध्यक्ष खत्रीको भनाइ हो यो । शिक्षालाई महत्व राख्ने खत्री प्रौढ शिक्षाका माध्यमबाट पढ्न र लेख्न सक्ने बनेको बताउँछिन् । विकट स्थानमा जन्मिएकी खत्रीले शिक्षालाई बुझेकै कारण बाल्यकालमा पढ्न नसके पनि विवाहपश्चात् अक्षर चिन्न सक्ने बनेकी हुन् । २०२६ सालमा धनीराम खत्रीसँग विवाह बन्धनमा बाँधिएपछि छोराछोरी जन्मिएपश्चात् शिक्षा आर्जन गरेको खत्रीको स्मरण रहेको छ । खत्रीका एक छोरा र पाँच छोरी छन् ।

बाबु मोतीलाल डाँगीकै प्रेरणका कारण सानै उमेरमा खत्रीले राजनीतिक यात्राको सुरुवात गरेकी हुन् । २०१७ सालमा पञ्चायत व्यवस्थाविरुद्धको लडाइँका कारण बाबुलाई पुलिसले हतकडी लगाएर बेलुवा लगाउँदै लगेका कारण पञ्चायत व्यवस्था ठीक हैन भन्ने कुरा उनको मानसपटलमा बसेको थियो । सात वर्षकै कलिलो उमेरमा लट्ठीमा तुइनको कपडा बाँधेर जानिनजानी पञ्चायत व्यवस्थाको विरोधमा नाराबाजी गर्दा खत्रीले पुलिसको पिटाइ पनि खाएकी थिइन । ‘अग्याट् पछ्याट केटाकेटी हुने गर्थे, पुलिसको लाठीको चोट पनि खाइयो,’ खत्रीले स्पमरण गर्दै भनिन् । ‘बिराउन कुकुरको पनि नबिराएस्, डराउन राजासँग पनि नडराएस्’ भन्ने बाबुको भनाइले सधैं निडर बन्न सहयोग गर्ने खत्रीको भनाइ रहेको छ । आन्दोलनका क्रममा होस् वा न्यायका पक्षमा बोल्दा होस् खत्रीले धेरैपटक हिरासतमा पर्नुका साथै घाइतेसमेत बन्न पुगेकी छिन् । २०४६ सालपश्चात् खत्री नेपालगन्ज, काठमाडौंलगायतका विभिन्न स्थानमा चार÷पाँचपटक हिरासतमा पर्नुका साथै २०६२/०६३ को अन्दोलनमा घाइतेसमेत भइसकेकी छिन् । २०४६/०४७ सालको आन्दोलनका क्रममा हालको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २, टिकुलीमा सुकुमवासीलाई बाँडिएको जग्गाको अनियमितताका बारेमा आमसभामा बोल्दा यातना एवम् हिरासतमासमेत बस्नु परेको तीतो अनुभव पनि खत्रीसँग रहेको छ । २०४६ सालमा घरमा दलित भित्र्‌याउने पनि उनी पहिलो महिला हुन् ।

कमलो मनकी धनी खत्री निडर त छिन् नै साथै न्याय प्रदात्त पनि छिन् । हाल न्यायिक समितिकी संयोजकसमेत रहेकी खत्री मानभन्दा न्याय हेनुपर्छ भन्ने गर्दछिन् । ‘न्याय हेरेस्, मान नहेरेस्’ भन्ने बुबाको भनाइलाई खत्री कहिलै नबिर्सने बताउँछिन् । वीपीको शिद्धान्त मान्ने खत्रीका बुबाका धेरै भनाइलाई खत्रीले आत्मसात् गर्दै हिँडिरहेकी छिन् । खत्री आफ्नो बुबालाई आफ्नो आइडलका रूपमा मान्नुका साथै वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, कृष्णप्रसाद भट्टराई, मुना कोइराला, गणेशमान सिंहजस्ता कांग्रेसका अग्रज नेताहरूलाई खत्री आफ्नो प्रेरणाका स्रोत मान्ने गर्दछिन् ।

गाउँपालिकाको उपाध्यक्ष जस्तो गरिमामय पदलाई बखुबी सम्हाल्न सक्षम खत्रीले यसअघि धेरै संघसंस्थामा आफ्नो इमान्दारिता देखाइसकेकी छिन् । न्यायका पक्षमा होस् वा पूर्वाधार निर्माणमा खत्रीले ठूलो योगदान दिएकी छिन् । खत्रीले गरेको अमूल्य योगदानको फल कोहलपुरमा निर्मित शिक्षण अस्पताललाई लिन सकिन्छ । कोहलपुर शिक्षण अस्पताल निर्माणमा खत्रीले गरेको साथ, सहयोग र आन्दोलन अझै पनि सबैमाझ स्मरणीय रहेको छ । यसका अलावा समशेरगंजस्थित खानेपानी उपभोक्ता समितिकी सदस्य, नगर विकास समितिकी सदस्य, महिला संघको मूल समितिको सभापति भएर पनि खत्रीले आफ्नो जिम्मेवारी बखुबी निभाएकी छिन् । खत्रीले ढकेरीस्थित स्वास्थ्यचौकीको स्थापनाकालमा स्वयम्सेवक भएर एक वर्ष बढी समय काम पनि गरिसकेकी छिन् । राजनीतिक क्षेत्र, सामाजिक क्षेत्रलगायत समाजसेवीको रूपमा खत्रीले थुप्रै काम गरेकी छिन् । उनी आफ्नो क्षमताले भ्याएसम्म सामाजिक कार्यमा लागि पर्ने बताउँछिन् ।

सघर्षमय जीवनबाट गुज्रिएकी खत्री आफने संगठन र जनताको हितलाई सधैं आफ्नो घर परिवारभन्दा ठूलो मान्ने गर्दछिन् । घरमा गाई, भैंसी, बाख्रा पाल्ने खत्रीले व्यस्तताका बावजुत पनि आफ्नो देश, जनता र पार्टीका लागि सदैव उदार नै रहिरहिन् । जस्तोसुकै परिस्थितिमा पनि खत्रीले आफ्नो कर्तव्य भुलिनन् र उनी आज नमुनाको रूपमा रहेको राप्ती सोनारी गाउँपालिकाको उपाध्यक्ष जस्तो गरिमामय पदलाई सम्हालिरहेकी छिन् । भ्रष्टाचारविरुद्ध सधैं सचेत हुनुपर्छ भन्ने खत्री सबै एकजुट हुन जरुरी छ भन्ने गर्दछिन् । समझदार, जिम्मेवार र इमान्दार भइयो भने जनताले सदैव साथ, सहयोग र माया गर्नेमा उनी निश्चिन्त छिन् । साभारः समृद्ध राप्तीसोनारी

Womui
Womui