बिद्युत प्राधिकरणको वार्षिकोत्सवमा सरसफाइ तथा वृक्षारोपण

28

नेपालगन्ज– नेपाल विद्युत प्राधिकरणको ३५ औँ वार्षिकोत्सवको अवसरमा कोहलपुर वितरण केन्द्रले सोमबार सरसफाइ तथा वृक्षारोपण गरेको छ । कोरोनाको बढ्दो संक्रमणको जोखिमका बखत नेपाल विद्युत प्राधिकरणले भीडभाड हुने औपचारिक कार्यक्रम नगर्ने जनाएपछि मातहतका कार्यालयहरुले विभिन्न रचनात्मक गतिविधि गर्दै आफ्नो वार्षिकोत्सव मनाइ रहेका छन् । त्यसैक्रममा कोहलपुर वितरण केन्द्रले आफ्नो कर्मचारीहरुको सहभागितामा कार्यालय परिसरभित्र सरसफाइ तथा वृक्षारोपण गरेको हो ।

वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीले परिसरमा वृक्षरोपणको शुभारम्भ गरे । सो क्रममा कर्मचारीहरुले मोरिङ्गा जातिका बिरुवाका बेर्नाहरु लगाएका थिए । कार्यरत कर्मचारीहरुको सक्रियतामा परिसर सरसफाइ तथा फोहोर व्यवस्थापन गरिएको थियो । कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अन्य कार्यक्रम नगरी पर्यावरणसमेतलाई फाइदा हुने सानो प्रयास गरिएको वितरण केन्द्रका प्रशासन प्रमुख जीतबहादुर चौधरीले बताए । सोही अवसरमा आजै साँझ कार्यालयमा दिपप्रज्वलन गरिने पनि प्रशासन प्रमुख चौधरीले जनाएका छन् ।

२०४२ साल भाद्र १ गते नेपाल विद्युत प्राधिकरणको रुपमा स्थापना भएको यो संस्थाले विद्युत उत्पादन, प्रशारण र वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७२÷७३ मा ८ अर्ब ८९ करोड खुद घाटा बेहोरेको प्राधिकरणले त्यसयता लगातार नाफा गर्दै आएको छ । आर्थिक वर्ष २०७६÷७७ मा करिव ११ अर्ब खुद नाफा गरी देशकै सबैभन्दा बढी नाफा गरेको सार्वजनिक संस्थान बन्न सफल भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Womui
Womui