‘जनप्रतिनिधि र कर्मचारी सरकारका एक रथका दुई पाङ्ग्रा हुन्’

331
दलबहादुर बस्नेत (प्रमुख प्रशासकीय अधिकृत), राप्ती सोनारी गाउँपालिका, अगैया, बाँके, प्रदेश ५, नेपाल ।

चालू आर्थिक वर्षमा के कस्ता काम भए् ?
धन्यवाद प्रश्नका लागि । राप्तीसोनारी गाउँपालिका आफैंमा समृद्ध छ । प्राकृतिक श्रोत साधनले भरिपूर्ण भएकोले हामीले समृद्ध बनाउन त्यति धेरै मेहेनत गर्नुपर्छ जस्तो लाग्दैन । अहिले हामीले समृद्ध राप्तीसोनारी निर्माणका लागि सबै वडाहरूमा विकास लागि पक्की सडक, विद्यालयका भवन निर्माण, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापनमा जोड दिएका छौं । सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्ने, नभएको वडामा तत्काल निर्माण गर्ने, राप्तीसोनारी कृषि पकेट क्षेत्र भएकोले कृषिलाई व्यवस्थित गरी सिँचाइका लागि अनुदान दिने काम भइरहेको छ । यहाँ विपद् जोखिम रहेको र त्यसमा बाढीको जोखिम धेरै भएको हुँदा सेल्टर निर्माण, सुरक्षाका संयन्त्र निर्माण, राहत खरिद गरेर स्टक राख्ने काम भएको छ ।

जनप्रतिनिधि र कर्मचारी विकासका खम्बा हुन्, विकासका लागि कसरी हातेमालो गर्नुभएको छ ?
कर्मचारी जनप्रतिनिधि सरकारको एक रथका दुई पांग्रा जस्तै हो । एक रथ जनप्रतिनिधि र एक रथ कर्मचारी हुन् । यी दुई बीचमा नङ र मासु सरह सम्बन्ध हुनुपर्छ । राप्ती सोनारीमा जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर रहेको छ । सबैले आफ्नो तर्फबाट गर्ने काम गर्नुभएको छ । काममा हस्तक्षेप छैन । राप्ती सोनारीको विकास र समृद्धमा सँगसँगै छौं ।

वडाको विकास, कार्यक्रम र योजना बाँडफाँड, खर्च र भुक्तानी सहज छ त ?
गाउँपालिकाबासी नागरिकका लागि कर्मचारी अहोरात्र खटिएका छांै । जनताको कामबिना ढिलासुस्ती भइरहेका छन् । नियम, प्रक्रिया र कानुन संगत आएका कुनै पनि काम रोकिँदैन । सहज रूपमा आएका साना ठूला कामको भुक्तानीहरू निश्चित विधि पु¥याएर गरेका छौं । सबैलाई हामी जानकारी गराउँछौं कि कुनै पनि काम र भुक्तानीमा झन्झट हुँदैन । कुनै समस्या आएमा वा भएमा कार्यकारी प्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वा वडाअध्यक्षलाई जानकारी दिएमा हामी समाधान गर्न प्रयास गर्ने छौं ।

चालू आर्थिक वर्षमा मुख्य कार्यहरू के–के भए र सम्पन्न गर्न बाँकी काम के–के छन् ?
म राप्तीसोनारी गाउँपालिकामा कार्यकारी प्रमुख भएर भर्खरै आएको हुँ । यहाँ कतिपय काम सुरु नभका र कतिपय भइरहेका छन् । म आउनबित्तिकै रोकिएका बाँकी काम थालेका छौं । अहिले २५ वटा योजना टेण्डर भई काम हुँदैछन् । उपभोक्ता समितिका काम भइरहेका छन् । बाँकी १७ वटा ठेक्का प्रक्रियामा गएर लकडाउनले खोल्न सकिएको छैन म्याद थप भएका छन् । लकडाउन खुलेमा ठेक्का खोलेर काम हुन्छ । तत्काल १० वटा योजनाको ठेक्का खोल्दछौं । जेठ र असार महिनाभर विकासका काम गर्न सकेमा हामी यो वर्षका अधिकांश योजनाको काम गरेर सक्छौं ।

कोरोना भाइरससँग लड्न गरेका कार्यक्रम र योजनाहरू के के हुन् ?
कोरोना भाइरस नियन्त्रणका लागि यसको प्रकृति, अवस्था र जोखिम हरेर काम गरेका छौं । खास गरेर हामीले व्यक्तिको आवगमन रोकेका छौं । हरेक वडामा बाहिरी मुलुकबाट आएका गाउँपालिकावासीको अभिलेख राख्ने, पहिचान गर्ने, स्वयम्सेवक परिचालन गरेका छौं । संकास्पद व्यक्तिलाई काउन्सिल, परामर्श गर्ने र खोजतलास भएको छ । बाहिरीबाट आएका व्यक्तिका लागि वडाहरूमा क्वारेन्टाइन निर्माण गरेका छौं । जहाँ राखेका शंकास्पद व्यक्ति १४ दिनसम्म बसेर घरमा फर्किएका छन् । त्यसै गरेर स्वास्थ्य संस्थामा जनशक्ति परिचालन गरेका छौं । स्वास्थ्यकर्मीका लागि आवश्यक उपकरण पिपिइ र अत्यावश्यक सामग्री व्यवस्थापन गरेका छौं । औषधी पर्याप्त खरिद गरेर राखेका छौं । वडामा मास्क वितरण भएको छ । सचेतनाका कार्यक्रम संचार माध्यमबाट र माइकिङमार्फत् भएको छ । अर्कोचाहीँ लकडाउनबाट उत्पन्न समस्या समाधान गर्न साँझ बिहान छाक टार्न मुस्किल हुने, दैनिक काम गरेर खाने मजदुर, असाहयका लागि घरमै गएर राहातको व्यवस्था गरेका छौं । गाउँपालिकाभित्र कुनै नागरिक भोकै रहनु पर्दैन् र सबै घरको लागि नुनु, तेल र साबुन हरेक घरधुरीमा व्यवस्था गरेका छौं । मुख्य सीमा नाका दाङ प्रवेश नाकामा हेल्प डेस्क राखेका छौं । त्यसैगरेर अन्य थुप्रै काममा जनचेतनामा कर्मचारी, स्वयम्सेवक, आमा समूह, जनप्रतिनिधि, कर्मचारी खटिएका छौं । मापदण्डका आधारमा एक हप्ताका लागि ४ वटा प्याकेज बनाएका छांै परिवारको संख्या हेरेर । जसरी लकडाउन बढ्छ त्यहीँ अनुसार राहत दिने नीति अवलम्बन गरेका छौं । राहत वडामार्फत् एकद्वारा प्रणालीमार्फत् वितरण भएको छ । विद्यार्थीका लागि लकडाउनमा रेडियो शिक्षा कार्यक्रम भइरहेको छ । कृषिका लागि तत्काल कृषि प्याकेज ल्याउने भन्ने गृहकार्य भइरहेको छ । गाउँपालिकाले कोरोना रोक्न विपत व्यवस्थापन कोषमा २ करोड रकम गाउँ सभाले राख्ने निर्णय गरे अनुसार जम्मा भएको र ६५ लाख खर्च भएर एक करोड ३५ लाख कोषमा रहेको छ । राहत वितरण गर्न प्रदेश सभाबाट १० लाख र अन्य संघसंस्थाबाट १२ लाखसम्म रकम जम्मा भएको छ ।

यहाँको प्राकृतिक श्रोत साधनको व्यवस्थापन र संकलन कसरी भइरहेको छ ?
जिल्लामै सबैभन्दा ठूलो श्रोतमा नदीजन्य पदार्थ भएको गाउँपालिका हो यो । तर दुर्भाग्य भन्नुपर्छ ४ पटकसम्म ठेक्का लाग्न नसकेपछि जनमतका रूपमा नदीजन्य पदार्थ व्यवस्थापन गर्ने कार्यपालिकाबाट निर्णय भएको छ । लकडाउन भएकोले अहिले काम भइरहेको छैन । बर्षातमा उठाउन पाइँदैन । लकडाउनपछि नदीजन्य पदार्थ बिक्रीवितरण र उत्खनन सुरु हुने छ । हामीले अहिले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र प्रदेश सरकारको प्रचलित प्रदेश कानुन, मापदण्ड र दररेटमा यहाँबाट नदीजन्य पदार्थ तथा प्राकृतिक श्रोतसाधन उत्खनन र बिक्री गर्ने व्यवस्था गरेका छौं ।

अन्त्यमा, गाउँपालिकाका विषयगत शाखाका कार्य र प्रगति कस्तो रहेको छ ?
विषयगत शाखाको कार्य प्रगति अहिलेसम्म सन्तोषजनक नै छ । काम राम्रो र अपेक्षा अनुसार भएका छन् । हालको लकडाउनले सबै काम हुन नसेकेको र काम ठप्प छन् । स्वास्थ्यको बाहेक अन्य शाखाका काम हुन सकेको छैन । समग्रमा आआफ्नो विषयगत शाखाबाट हुने कामहरू सन्तोषजनक रूपमा रहेका छन् । कर्मचारीहरू विषयगत शाखामा कमी छ । कतिपय कर्मचारी आउन बाँकी छ । हामी आन्तरिक रूपमा पनि जनशक्ति व्यवस्थापन गर्दैछौं । (साभारः समृद्ध राप्तीसोनारी)

Womui
Womui