यो राप्ती सोनारी

विश्वको अति कम विकसित मुलुकको सदस्य नेपालले आर्थिक वृद्धि कसरी हासिल गर्न सक्ला ? यही विषयमा स्वदेशमा मात्र नभई विदेशमा समेत पटकपटक छलफल, विचार मन्थन भएका छन् । समग्र विकासका लागि अहिलेसम्म निस्किएको निष्कर्ष पर्यटन र जलस्रोतले नेपालको आर्थिक वृद्धि हुनसक्छ भन्ने हो । विश्वका थुप्रै मुलुकसँग तुलना गर्ने हो भने नेपालले आर्थिक विकास गर्ने आधार मूलतः पर्यटन र जलस्रोतबाटै देखिन्छ । किनकि पर्यटन र जलस्रोतमा नेपाल अपार धनी छ ।
कतिपय अध्ययनले जलविद्युत् उत्पादनको क्षमतामा नेपाल संसारमै ब्राजिलपछिको दोस्रो स्थान रहेको पनि देखाएका छन् । त्यस्तै पर्यटकीय क्षेत्रको कुरा गर्दा समुद्रबाहेक नेपालसँग कुनै पनि स्रोतको कमी छैन । विश्वको सबभन्दा अग्लो भूभाग सगरमाथादेखि विश्वमै दुर्लभ रहेका पाटे बाघ नेपाल आउने पर्यटकका लागि आकर्षणका केन्द्र हुन् । हिमाली क्षेत्रको ट्रेकिङ, थुप्रै ग्रामीण बस्तीका होमस्टे, नेपालीहरूको आत्मीयतापूर्ण व्यवहार, निश्चल हाँसो, अनगिन्ती धार्मिकस्थल तथा थुप्रै मन लोभ्याउने मनोरम दृष्यको बारेमा एउटै आलेखमा व्याख्या गर्न सम्भव छैन । त्यसैले नेपालमा बसोबास गरिरहेका व्यक्तिको मात्र नभई देश बाहिरका मान्छेहरूको भनाइ सुन्निछ– पर्यटनको कुरा गर्दा नेपालमा कुन पर्यटकीय स्रोत छ र ? भन्ने होइन कि के छैनबाट खोजी गर्नुपर्छ । यसको अर्थ हो नेपालमा पर्यटक लोभ्याउने प्रायः सबै पर्यटकीय क्षेत्र र आनन्द दिलाउने स्रोत पर्याप्त छन् ।

प्रसङ्ग राप्ती सोनारीको

जसरी नेपालको विकासका लागि पर्यटन क्षेत्रलाई महत्वपूर्ण मानिन्छ । ठ्याक्कै समग्र देशको जस्तै सम्भावना बाँकेको राप्तीसोनारी गाउँपालिकाले पनि बोकेको छ । बाँकेका आठ पालिकामध्ये भूगोलको दृष्टिकोणले सबभन्दा ठूलो यो गाउँपालिकामा पर्यटकीय क्षेत्रबाट निकै लाभ लिनसक्ने सम्भावना छ । यो गाउँपालिकाको बस्तीपिच्छे कुनै न कुनै पर्यटकीय स्थल भेटिन्छन् । राप्तीसोनारीको वडा नम्बर १ मा पर्ने गाईलेक होस् वा वडा नम्बर २ को बैसा वनभोजस्थल जो कोहीका लागि मन लोभ्याउने क्षेत्र हुन् । त्यस्तै वडा नम्बर ३ को भुवँरभवानी मन्दिर तथा बाँके राष्ट्रिय निकुन्ज सिंगो राप्तीसोनारीले गर्व गर्ने पर्यटकीयस्थल हुन् । राप्तीसोनारीका कतिपय पर्यटकीयस्थल त जिल्लाभित्र मात्र नभई सिंगो देशभरि नै प्रख्यात छन् ।

त्यसो त राप्तीसोनारीमा कृषि लगायतका अन्य क्षेत्रको सम्भावना नभएको भन्न खोजिएको भने होइन । तराईको भूमि भएकाले अन्न उत्पादनको दृष्टिकोणले राप्तीसोनारी निकै सम्भावनायुक्त क्षेत्र हो । यद्यपि कृषि खेती प्रणालीलाई अब परम्परागत शैलीबाट नभई आधुनिक शैलीबाट विकास गर्न जरूरी छ । राप्तीसोनारी गाउँपालिकामा बढिरहेको विकास तथा जनचेतनाको लहरले गर्दा स्थानीय तहमा खुशीयाली छाइरहेको आभास हुन्छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुका अनुसार विकासलाई तीव्रता दिन र जनताको जीवनशैलीलाई सहज पार्न गाउँपालिकाले सडक लगायत पूर्वाधार निर्माणमा जोड दिइरहेको छ । ‘यतिखेर सबै स्थानीय तहका जनताको चाहनामा नै विकास निर्माण भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले गाउँपालिकाले जनताको चाहना अनुसार नै सडक र भौतिक पूर्वाधार निर्माणमा जोड दिइरहेको छ ।’ गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले जनताको चाहना अनुसार नै विकास निर्माणमा काम भइरहेको र जनतासँग होस्टेमा हैंसे गरिरहेको बताउनुभयो । ‘जनताको चाहना कसरी पूरा गर्ने भन्नेमै गाउँपालिकाको ध्यान छ, ‘उहाँले भन्नुभयो, ‘आगामी दिनमा पनि जनताकै चाहनामा विकासका योजना सञ्चालन हुनेछन् ।’

अबको बाटो

माथि उल्लेख भइसकेको छ कि राप्तीसोनारी सम्भावना नै सम्भावना बोकेको आर्थिक समृद्धियुक्त गाउँपालिका हो । एउटा चिनियाँ उखान छ– मेहनत गर्नेले कहिलै हार्दैनन् भन्ने । हो, अब राप्तीसोनारीमा केवल आवश्यकता छ त मेहनत र नयाँ सोचको । मेहनत र नयाँ सोचका साथ अघि बढ्दा राप्तीसोनारीलाई आर्थिक समृद्धि प्राप्त गर्न कसैको प्रतीक्षा गर्नुपर्ने छैन ।

लगनशील हुँदै नयाँ योजनाका साथ काम गर्ने हो भने अबको केही वर्षमै राप्तीसोनारीमा भौतिक प्रगति र आर्थिक समृद्धिमा कायापलट हुने निश्चित छ । यसले गर्दा जनताको आम्दानीमा वृद्धि भएर गुणस्तरीय जीवन जिउने अवस्था सिर्जना हुन्छ । र, जसले गर्दा जनताको जीवनस्तर उपल्लो स्थानमा पुग्छ । बाँके राष्ट्रिय निकुञ्जको ७० प्रतिशत भूभाग राप्तीसोनारी गाउँपालिकामा पर्छ । त्यति मात्र होइन थुपै्र सामुदायिक वन पनि यही गाउँपालिकामा छन् । देशकै राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको मूल नहर, बाँध यही गाउँपालिकामा परेकाले बाह्य क्षेत्रको थप आँखा परेको छ ।

हुन त राप्तीसोनारी भनेको प्राचीनकालदेखि नै विभिन्न जिल्लाबाट बसाइँ सरेर आउनेको जमघटस्थल हो । त्यसैले आज राप्तीसोनारी थुपै्र जिल्लाका मान्छेको बसोबासस्थल बन्न पुगेको छ । बाहिरी जिल्लाका मान्छेले बसोबासस्थल बनाउनु भनेको भविष्यप्रति सम्भावना देखेरै हो । जहाँ सम्भावना हुँदैन, त्यहाँ कसैको पनि आँखा पर्दैन भन्ने हामी सबैलाई थाहै छ । त्यसैले आज सम्भावनायुक्त क्षेत्रमा बाक्लो मानवबस्ती छ । जहाँ सम्भावना हुँदैन, ती क्षेत्र मानवविहीन भइरहेका छन् । कैयौं बस्ती मानवविहीन हुने क्रममा छन् । पूर्वपश्चिम राजमार्गको निर्माणले राप्तीसोनारीलाई सुगमस्थलका रूपमा परिणत गरेपछि बर्सेनि यसको कुनै न कुनै रूपमा प्रगति भइरहेको छ ।

देशमै चर्चामा रहेको बागेश्वरी मन्दिरपछि प्रसिद्धी कमाएको भुवरभवानी मन्दिर राप्तीसोनारीमै छ । राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनको सम्भावना उस्तै छ । विश्वकै दुर्लभ पाटेबाघ हेर्न राप्तीसोनारीमै पर्ने बाँके राष्ट्रिय निकुञ्जमा पुग्नुपर्छ । यस्तै राप्ती नदीमा गोही देख्न पाउनु अर्को रमाइलो पक्ष हो । राप्तीसोनारी गाउँपालिका सिंगो प्रदेश नम्बर ५ को नदीजन्य पदार्थ धेरै निस्कने र राजस्व बढी उठ्ने स्थानीय तहसमेत हो भन्नेबारे अझै धेरैलाई थाहा नहुन सक्छ । आन्तरिक पर्यटकका लागि ढकेरीमा रहेको वनस्पति उद्यान यस क्षेत्रकै लागि परिचित र चर्चित पर्यटकीय क्षेत्र हो । ढकेरीमै रहेको हात्तीसार र नयाँगाउँ थारु होमस्टे पनि निकै प्रख्यात छन् । यहाँ रहेको पुरानो खस्रे ताल संरक्षणको पर्खाइमा छ र यो पर्यटकीय क्षेत्रको रूपमा विकास हुनसक्ने अर्को सम्भावनायुक्त क्षेत्र हो । राप्तीसोनारीमै पर्ने गाई लेक धार्मिक आस्थासँग जोडिएको छ । जस्तोसुकै खडेरीमा पनि यस लेकमा गएर पुजा गर्ने हो भने वर्षा हुने जनविश्वास छ ।

थारु समुदायले पुज्दै आएको भुवँरभवानी मन्दिर यस क्षेत्रको सबैभन्दा चर्चित मन्दिर हो । थारु संस्कृतिमा यो क्षेत्र निकै धनी छ । जसले गर्दा राप्तीसोनारीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने देखिन्छ । राप्तीसोनारीमा यस्ता थुपै्र अपार प्राकृतिक सौन्दर्यतताका स्थान छन् । तालतलैया, हरिया वनजंगल, मठमन्दिर, खोलानाला तथा मिश्रित बसोबासले यस गाउँपालिकाको महत्व झनै बढाएको छ । मेला, महोत्सव लगायतका विभिन्न कार्यक्रममा थारु समुदायको कला संस्कृति हेर्न पाइने भएकाले पनि पर्यटकलाई आकर्षित गर्ने सम्भावनायुक्त पक्ष हो । राप्तीसोनारी बहुधार्मिक, बहुभाषिक, सामाजिक, सांस्कृतिक बसोबास रहेको क्षेत्र हो । त्यसैले गर्दा यो क्षेत्रलाई धेरैले अपनत्व महसुस गर्दै विकासका लागि एक आपसमा सहकार्य गरिरहेका छन् । यहाँ समुदायको धर्म, संस्कार, परम्परा अनुसारका धार्मिकस्थल प्रशस्त छन् । विभिन्न वडामा रहेका पोखरी, तालतलैया, कुवा, सार्वजनिकस्थल, पाटीपौवा, प्रतीक्षालय, मन्दिर, कुटी, मेलास्थल छन् । राप्तीसोनारी विविध धर्मावलम्बीको मिश्रित बसोबास रहेको गाउँपालिका भएकाले यसलाई सद्भावको बस्ती पनि भन्न सकिन्छ । पर्यटन क्षेत्रको कुरा गर्दा जसरी नेपालमा सबै कुराको उपलब्धता छ । त्यसैगरी राप्तीसोनारी गाउँपालिकासँग पनि त्यो उपलब्धता छ । अब यी भएका स्रोत, साधनलाई अधिकतम उपयोग गरी कसरी लाभ लिन सकिन्छ भन्नेमै ध्यान जानु पर्छ । अब पनि प्राकृतिक स्रोत साधनलाई उपयोग गर्न नसक्ने हो भने देशमा आएको गणतन्त्र आम नागरिकका लागि हात्ती आयो फुस्सा… सरह हुन बेर लाग्ने छैन ।

वि.सं. २०६२/६३ को जनआन्दोलनपछि मुलुकमा निकै हदसम्म राजनीतिक मुद्दामा कमी आएको छ । यस्तो बेला परिवर्तनको अवसर गाउँगाउँमा बसोबास गर्ने सबैले पाउनुको साथै आमनागरिकले परिवर्तनको महसुस गर्न सक्नु पर्छ । । त्यसैले अहिलेको अवसरलाई खेर फालेर भविष्यमा चुकचुकाउने छुट कसैलाई पनि दिनु हुँदैन । यो अवसरलाई अब सबैले सदुपयोग गरी सिंगो गाउँपालिकालाई प्रगतिपथमा लैजानुपर्ने अहिलेको आवश्यकता हो । यतिखेर गुनासो गर्ने होइन कि हातेमालो गरी अघि बढ्ने बेला हो । जुन कार्यले सिंगो गाउँपालिकालाई प्रगतिपथमा लैजान्छ । अब प्रगतिको हिस्सेदार राप्तीसोनारीमा बसोबास गर्ने हरेक नागरिक हुन्छन् ।

कृषि क्रान्तिको पर्खाई

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरले राप्तीसोनारीको केही भागमा सिँचाइ सुविधा पुग्दैछ । सिँचाइ सुविधापछि राप्तीसोनारीमा कृषि उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । सिँचाइ आयोजनाको युद्धस्तरमा काम भइरहेको छ । आयोजना अबको तीन/चार वर्षमा काम सक्ने गरी काम भइरहेको छ । सिक्टाले बाँकेको करिब ४२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । पूर्वी नहरले राप्तीसोनारीको नौ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य छ ।
सिक्टा आयोजना सम्पन्न भएपछि किसानको अहिलेको आर्थिक अवस्थामा कम्तीमा तीन गुणाले बढ्ने कृषि प्राविधिकको अपेक्षा छ । तराईंको खेतीयोग्य जमिनमा उत्पादनको कुनै समस्या नभए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा किसानले कृषि खेतीबाट अपेक्षित लाभ लिन सकेका छैनन् । करिब २५ अर्ब रूपैयाँ (पछिल्लो पटक संशोधित) लागत लाग्ने अनुमान गरिएको सिक्टा सिँचाइ आयोजनामा हालसम्म १८ अर्ब १ करोड रूपैयाँ खर्च भइसकेको छ । साभारः समृद्ध राप्ती सोनारी

प्रतिक्रिया दिनुहोस्