सम्पर्क कक्षा संचालन गर्दै राप्तीसोनारी

137

बाँके (राप्तीसोनारी)–विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड १९) का कारण चैत ११ गतेदेखि देशव्यापी रुपमा निरन्तर विद्यालय बन्द भयो । जसले गर्दा विद्यार्थी माझ पठनपाठनको समस्या देखियो । यहीँ समस्यालाई सुल्झाउन राप्तीसोनारी गाउँपालिकाले विद्यार्थीको पठनपाठनका लागि देशव्यापी लकडाउनका बेला पनि रेडियो शिक्षा कार्यक्रम संचालन गरेर विद्यार्थीका लागि अध्ययन गर्ने वातावरण बनायो । विद्यार्थीका लागि अध्ययनको पाटोलाई अझै प्रभावकारी बनाउन राप्तीसोनारीले अब सम्पर्क कक्षा संचालन गर्ने भएको छ ।
राप्तीसोनारी गाउँपालिकाले यही १५ गतेदेखि सम्पर्क कक्षा संचालन गर्ने भएको हो । राप्तीसोनारी गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय गरी ७२ विद्यालयमा सम्पर्क कक्षा संचालन गर्ने राप्तीसोनारी शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले बताएका छन् ।
राप्तीसोनारी गाउँपालिकाको मातहतमा शिक्षा शाखाको निगरानीमा सम्पर्क कक्षा संचालन गरिने गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् । अध्यक्षा थारु भन्छन्, ‘लामो समयदेखि विद्यालय बन्द भएका कारण विद्यार्थीमाझ पठनपाठनको समस्या देखियो । त्यस कारण विद्यार्थीका पठनपाठनलाई मध्यनजर गर्दै सम्पर्क कक्षा संचालन गर्न लागेका हौं ।’
साउन ११ गते शिक्षा समितिका संयोजकसमेत रहेका अध्यक्ष थारुको अध्यक्षतामा बसेको बैठकले सम्पर्क कक्षा संचालन गर्ने निर्णय गरेको थियो । कक्षा संचालन गर्दा शिक्षा युवा तथा खेलकुद शाखाद्वारा जारी मापदण्डअनुसार सम्पर्क कक्षा संचालन गरिने थारुले बताए । कक्षा संचालन गर्दा सामाजिक दूरी कायम गर्ने, एउटा बेन्चमा बढीमा दुई विद्यार्थी राख्ने, विद्यार्थीको संख्या धेरै भएमा एउटा कक्षामा बढीमा २५ राख्ने, बालबालिकाको संख्याका आधारमा सफा पानी र साबुनसहितको हात धुने व्यवस्था गरिने छ । कक्षा संचालन गर्ने क्रममा कसैलाई पनि कुनै स्वास्थ्य समस्या देखिएमा तत्काल स्वास्थ्य सेवाको व्यवस्था गरिने शिक्षा शाखा प्रमुख न्यौपानेले बताएका छन् ।

Womui
Womui