‘सेनाको साथ नपाएको भए कोरोना नियन्त्रण जटिल हुन्थ्यो’: अध्यक्ष शाह

61

बाँके(नरैनापुर)– बाँकेको नरैनापुर गाउँपालिकाकाबाट सेना फिर्ता भएको छ । कोरोना कहरमा परिचालन गरिएको सेना मंगलबार (आज) फिर्ता गरिएको हो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उनीहरुलाई बिदाइ गरेका हुन् ।

अप्ठ्यारो अवस्थामा स्थितिलाई नियन्त्रणमा लिन सेनाले गरेको योगदानको अध्यक्ष शाहले मुक्तकण्ठले प्रशंसा गरेका छन् । कोरोनाको हटस्पट बनेको नरैनापुरलाई पूर्ववत् अवस्थामा ल्याउन सेनाले खेलेको भूमिका सह्रानीय रहेको अध्यक्ष शाहले बताए । कोरोनाले गाँजेको बेला असहज परिस्थितिलाई नियन्त्रणमा लिन सेना खटाइएको थियो । कोरोनाका कारण परिस्थिति नियन्त्रण बाहिर जान थालेपछि गाउँपालिकाले सेनाको माग गरेको थियो । त्यसपछि जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको थियो । क्वारेन्टाइनमा बसेकाहरुमा धमाधम कोरोना देखिँदा संक्रमितहरुलाई आइसोलेसनसम्म ल्याउन स्थानीय केही नेताहरुले अवरोध सिर्जना गरेपछि परिस्थिति जटिल बनेको थियो । क्वारेन्टाइन व्यवस्थापन, शिल गरिएको क्षेत्रको अनुगमन, लकडाउन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा मजबुत बनाउन सेनालाई जिम्मेवारी दिइएको थियो ।

सेनानी सुरेश कुमार श्रेष्ठको कमाण्डमा राँझास्थित भैरव प्रसाद गणबाट ४५ जना सेना खटाइएको थियो । गत जेठ ११ गतेदेखि सेना परिचालन गरिएको थियो । जय किसान माविमा क्याम्प बनाई बसेको सेनालाई आज एक कार्यक्रमका विच बिदाई गरिएको हो । शिक्षक अरुण यादवले संचालन गरेको बिदाई कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, जय किसान माविका प्रधानाध्यापक लक्ष्मण तिवारी लगायतको उपस्थिति थियो । जेठको मध्यसम्म देशकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको नरैनापुरमा हाल नयाँ संक्रमित छैनन् । नरैनापुरमा १ सय १९ जनामा संक्रमण भएकोमा सबै निको भएर घर फर्किसकेका छन् । नरैनापुर ५ का २५ वर्षका एक युवकको भने क्वारेन्टाइनमै बसेको बेला मृत्यु भएको थियो ।

Womui
Womui