डुबान प्रभावित जनताको समस्या बुझ्न पुग्यो सांसद अथकसहितको टोली

141
स्थलगत निरीक्षणमा सांसद महेश्वर गहतराजलगायत । तस्बिरहरुः दिलिप सोनीको फेसबुकबाट

नेपालगन्ज–डुबान र कटान प्रभावित क्षेत्रका जनताको समस्या बुझ्न प्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराजसहितको टोली स्थलगत निरीक्षणमा पुगेको छ । मनसुनी वर्षा सुरु भएसँगै राप्तीसोनारीमा रहेका खोलाबाट बर्सेनि डुबान र कटानको समस्या स्थानीयले बेहोर्दै आएका छन् । खोलानालाबाट हुने कटान र डुबानको समस्या समाधान गर्ने उद्देश्यले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ स्थित बांगेशाल,चुकेनाला,भक्ताखोलाको स्थलगत निरीक्षणमा सांसद महेश्वर गहतराजसहितको टोली मंगलबार पुगेको हो ।

सांसद अथकसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ, बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना,  बाँके राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराई, सशस्त्र प्रहरी प्रमुख दीपक अधिकारी, नेपाली सेनाका कर्णेल, नेकपा बाँके सचिवालय सदस्य अब्दुल हुसेन खाँ, सशस्त्र प्रहरी प्रमुख दीपक अधिकारीलगायत स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताले स्थलगत अनुगमन गरेको अनुगमनमा सहभागी राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष महावीर ओलीले जानकारी दिए ।

अनुगमनपश्चात् स्थानीय खोलानालाले बर्सेनि रुपमा गर्दै आएका डुबान र कटान सम्बन्धमा त्यसको रोकथामका विषयमा स्थानीयसँग अन्तर्क्रिया समेत गरिएको वडाध्यक्ष ओलीले जानकारी दिए ।

अनुगमनपश्चात् स्थानीयसँग गरिएको अन्तर्क्रिया बमोजिम कटान र डुबानको समस्या समाधान गर्न पहल गर्ने सांसद अथकले प्रतिबद्धता जनाएका छन् । सांसद अथकका अनुसार बर्सेनि खोला नालाका कारण किसानका खेतीयोग्य जमिन कटान तथा डुबानमा पर्दा वर्षायाममा आफू निकै चिन्तित हुने गरेको बताउँदै यथाशक्य स्थानीयको समस्या समाधान गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । अनुगमनका क्रममा टोलीले उद्यन बुच्चापुर सिँचाइ आयोजनाको फुटेको बाँधको पनि स्थलगत निरक्षण गरेका थियो ।

Womui
Womui