भगवान् राम नेपालमा जन्मिएको प्रधानमन्त्रीको भनाइ कसैको भावनामा ठेस पुर्‍याउनु होइनः परराष्ट्र मन्त्रालय

164

काठमाडौं– भगवान रामको जन्म भारतको अयोध्यामा नभई नेपालको ठोरीमा जन्मिएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइले कसैको भावना माथि ठेस पुर्‍याउनु नभई यसबारे गहन शोध र अनुसन्धान हुनु पर्ने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भानु जयन्तीका अवसरमा २९ असारमा आयोजित एक कार्यक्रममा भगवान राम भारतको अयोध्यामा नभई नेपालको ठोरीमा जन्मिएको बताएका थिए। प्रधानमन्त्रीको भनाइबारे मंगलबार एक विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम र अयोध्याका विषयमा गरेको टिप्पणीबारे भएका ब्याख्या र प्रतिक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको हो।

जारी विज्ञप्तिमा भनिएको छ , ‘श्रीराम र उनीसँग जोडिएका स्थानका बारेमा कैयौं मिथक र सन्दर्भहरु छन्। प्रधानमन्त्रीले श्रीराम, रामायण र यससँग जोडिएको सांस्कृतिक भूगोल र समृद्ध संस्कृतिबारे तथ्य पत्ता लगाउन थप शोध र अनुसन्धानको महत्वमा जोड दिनु भएको हो।’ प्रधानमन्त्रीले गरेको टिप्पणी अयोध्याको महत्व र यसको सांस्कृतिक मूल्यमाथि बहसका लागि नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ। विज्ञप्तिमा विवाह पञ्चमीका अवसरमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेको, सन् २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्न पनि भनिएको छ।

Womui
Womui