प्रेस युनियन बाँकेले दियो सञ्चारकर्मीलाई राहत सामग्री र प्रेस ज्याकेट

126

नेपालगन्ज, असार २७-
कोरोना भाइरस(कोभिड–१९)का कारण समस्यामा परेका सञ्चारकर्मीलाई नेपाल प्रेस युनियन बाँकेले शनिबार राहत सामाग्री वितरण गरेको छ । युनियनको जिल्ला कार्यसमिति बैठकले यसअघि ‘कोभिड–१९ एनपियु राहत कोष’ घोषणा गरेको थियो । युनियनले निर्धारण गरेको मापदण्ड अनुसार तत्कालका लागि अति समस्यामा परेका १० जना सञ्चारकर्मीलाई राहत सामाग्री वितरण उपलब्ध गराइएको हो ।

राहत प्याकेजमा चामल, दाल, पिठो, तेल, नुन र साबुन रहेको छ । उक्त राहत प्याकेज युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले सञ्चारकर्मीलाई हस्तान्तरण गरे । कोरोना भाइरस(कोभिड–१९)का कारण अति समस्यामा परेका जिल्लाका सञ्चारकर्मीको पहिचान गरी राहत प्याकेज उपलब्ध गराइएको उनले बताए । ‘कोरोना भाइरसका कारण कतिपय सञ्चार माध्यम बन्द भएका छन्, अनेक कठिनाईका बीच चलेका सञ्चार माध्यमले पनि सञ्चारकर्मीलाई तलब, सुबिधा दिन सकेका छैनन्, यस्तो अवस्थामा अति समस्यामा परेका सञ्चारकर्मीको पहिचान गरी युनियनले राहत प्याकेज उपलब्ध गराएको हो,’ अध्यक्ष ओलीले भने ।

अति समस्यामा परेका सञ्चारकर्मीको पहिचान भएमा युनियनले निर्धारित मापदण्ड अनुसार राहत प्याकेज उपलब्ध गराउने उनले बताए । युनियन बाँके शाखाले यसअघि आफ्नो लोगो अंकित प्रेस ज्याकेट आफ्ना सदस्यलाई वितरण गरेको छ । प्रेस ज्याकेट अभावका कारण समाचार संकलनमा हुने कठिनाई अन्त्य गर्न युनियन बाँके शाखाले ज्याकेट वितरण गरेको सचिव विजय मल्लद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Womui
Womui