उपमहानगरपालिका र ठेकेदारको लापरबाहीले कालोपत्रे अलपत्र

31

नेपालगन्ज, असार २७
ठेकेदारले काम नगर्दा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर राजागाउँदेखी सुधारटोल जोड्ने कालोपत्रे सडक अलपत्र परेको छ । प्रदेश पाँचका सांसद मोहम्मद याकुव अन्सारीले संसद विकास कोषबाट २ सय ३० मिटर नालासहित उक्त सडक कालोपत्रे गर्न बजेट हालेका थिए । उक्त काम सम्पन्न गर्न नेपालगन्ज उपमहानगरपालिका कार्यालय र राप्ती गणेश कन्स्ट्रक्सन कम्पनीबीच २०७६ फागुन २८ गते १८ लाख ७९ हजार १० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता पश्चात आफुहरुले सडक क्षेत्र खाली गरेर सहयोग गरेपनि ठेकेदारले कामै नगरी समय गुजारेको स्थानीय बासिन्दा तोजेन्द्र रोकायले बताए । ‘माननीय ज्युलाई अनुरोध गरेपछि उहाँले हाम्रो टोलमा नाला निर्माण र कालोपत्रे गर्न बजेट हाल्नुभयो, तर नेपालगन्ज उपमहानगरपालिका र ठेकेदारको चरम लापरबाहीका कारण काम सम्पन्न भएन,’ उनले भने ‘माननीय ज्युले जनताको लागि हालेको बजेट फ्रिज हुनु दुःखद कुरा हो ।’ ठेकेदारलाई स्थानीय बासिन्दाले पुर्ण रुपले साथ दिदाँ पनि काम गर्न नचाहेको उनीहरु बताउँछन् । ठेकेदारले बाटोमा एक/दुई पटक ग्राभेल खसाल्ने काम बाहेक अरु केही नगरेको स्थानीयले बताएका छन् ।

काम अनुरोध हुँदा बर्खायामको बेलामा अहिले उक्त सडक हिलाम्य हुने गरेको स्थानीयको दुखेसो छ । प्रदेश पाँचका सांसद अन्सारीले आफुले हालेको २५ लाख बजेट मध्ये १८ लाख ७९ हजार १० रुपैयाँमा ठेकेदारसँग सम्झौता भएको र ३ लाख ७५ हजार रुपैयाँ ठेकेदारले पेश्की रकम भुक्तानी लिइसकेको बताए । ‘बजेट हाल्दा पनि बाटो नबन्नुमा ठेकेदार र नेपालगन्ज उपमहानगरपालिकाको चरम लापरबाही हो, ठेक्का लागेपनि बाटो नबन्नु दुःखद कुरा हो,’ उनले भने । कुल २ सय ३० मिटर नालासहित सडक कालोपत्रे गर्ने जिम्मा ठेकेदारले लिएपनि काम अलपत्र पारेको सांसद अन्सारीले बताए । सडक बनाउने वातावरण तयार गर्न आफु पटक–पटक स्थलगत रुपमा पुगेको उनको भनाई छ । सडक निर्माणको ठेक्का लिएको ठेकेदारले पछिल्लो समयमा आफ्नो फोन समेत उठाउन छाडेको बताए ।

Womui
Womui