‘हचुवाको भरमा पैसा असुल्दै नेपालगन्ज विद्युत प्राधिकरण’

117
खपत युनिट भन्दा बढी बढी युनिट आएका सेवाग्राही (दायाँ) र प्राधिकरणले फरकफरक तवरले लिएको सेवा शुल्क (बायाँ) ।

रमण ओली

(नेपालगन्ज)– नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले हचुवा तवरले सेवाग्राहीसँग पैसा असुलेको फेला परेको छ । वितरण केन्द्रले मिटरमा खपत भएको युनिट भन्दा बढी युनिटको बिल सेवाग्राहीलाई थमाएर हचुवा तवरले पैसा असुलेको पाइएको हो ।

यसबारे बुझ्दा वितरण केन्द्रका कर्मचारीले देसमा जारी लकडाउनका कारण मिटर रिडिङ गर्न नसकिएको बताएका छन् । मिटर रिडिङ नभएपछि कसरी पैसा लिइरहनु भएको छ भन्ने प्रश्नमा गत वर्ष चैत वैशाख र जेठ महिनामा सेवाग्राहीले खपत गरेको युनिटलाई आधारमा मानेर लकडाउन अवधिमा सेवाग्राहीको युनिट निर्धारण गरिएको उक्त कर्मचारीले बताए ।

देशमा लकडाउन खुकुलो भएपछि मिटर रिडिङ गर्न पुगेका व्यक्तिले आफ्नो मिटरमा खपत भएको युनिट भन्दा १६२ युनिट बढी हालेको गुनासो एक सेवाग्राहीले गरे । उनका अनुसार तीन महिनापछि मिटर रिडिङ गर्न गएका कर्मचारीले घरपिच्छे फरक फरक बिल दिएको छ । उनका अनुसार कुनै घरको बिजुलीको बिलमा वितरण केन्द्रले लिँदै आएको सेवा शुल्कमा १५० रुपैयाँ तोकेको छ भने कसैकोमा सेवा शुल्क ५० रुपैयाँ जोडेको छ । त्यस्तै कुनै सेवाग्राहीको बिलमा १२५ रुपैयाँ सेवा शुल्क तोकेको छ । ‘वितरण केन्द्रले लिँदै आएको सेवा शुल्क यसरी घरपिच्छे कसरी फरक पर्‍यो ?’ पीडित सेवाग्राहीले भने ।

मिटरमा खपत भएको युनिट बारे जानकारी गराउँदा वितरण केन्द्रले १६२ युनिटको पैसा तिर्न दबाब दिएको गुनासो छिनछिन खबरलाई पीडित सेवाग्राहीले गरेका छन् । ‘मिटरमा खपत नभएको युनिटबारे जानकारी गराउँदा वितरण केन्द्रका कर्मचारीले त्यही पैसा तिर्नुस् पछि मिलाउँला भने । खपतै नगरेको युनिटको पैसा नतिर्ने अडान लिएपछि खपत युनिट अनुसार पैसा तिर्नका लागि धेरै प्रक्रिया अपनाउनु पर्ने बताउँदै अप्रत्यक्ष रुपमा बढी पैसा तिर्न दबाब दिए ।’

वितरण केन्द्रले हचुवा तवरले बढाएको युनिटको पैसा नतिर्ने सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै आएको छ । वितरण केन्द्रका कर्मचारीले त्यस्ता सेवाग्राहीलाई निवेदन दिएर अर्को दिन आउन भन्दै दुःख दिने गरेका हुन् । खपत युनिट भन्दा बढी युनिट आएका सेवाग्राहीबाट वितरण केन्द्रले युनिट सच्चाइ दिनुस् भन्ने आशयको निवेदन हाल्न लगाउने गरेको छ । वितरण केन्द्रमा परेको निवेदन उपर सोही दिन आवश्यक प्रकिया नअपनाइ अर्को दिन गर्ने भन्दै फर्काउने गरेको छ। जसले गर्दा टाढाबाट आएका सेवाग्राहीलाई समस्या परिरहेको छ ।

वितरण केन्द्रले दिने बिल सम्बन्धित व्यक्तिबाहेक सहजै जोकोहीले नबुझ्ने भएकाले बिलमा उल्लेखित रकमको आधारमा वितरण केन्द्रले सेवाग्राहीबाट बढी पैसा असुलेको आशंका सेवाग्राहीले गरेका छन् । खपत युनिट भन्दा बिलमा बढी युनिट आएका एक सेवाग्राहीले भने,‘हामीहरुले त बल्लतल्ल बुझ्छौं । अनपढ सेवाग्राही बिल अनुसारकै पैसा तिर्न बाध्य छन् ।’

चैत ११ गतेदेखिको लकडाउनका कारण देस आक्रान्त भइरहेको बेलामा हचुवा तवरले खपत युनिट भन्दा बेसी हालेर पैसा असुलिरहेको एक सेवाग्राहीले गुनासो गरे । सरकारले लकडाउनको बेला विद्युतलगायत सेवामा बिलम्व शुल्क मिनाहा गरेको अवस्थामा प्राधिकरणले हचुवा तवरले सेवाग्राहीको युनिट बढाउनुमा अप्रत्यक्ष रुपमा बिलम्ब शुल्क उठाइरहेको आरोप सेवाग्राहीले लगाएका छन् ।

Womui
Womui