बाँके र बर्दियामा धान रोपाइँ तीव्र, किसानलाई मलकै चिन्ता

366


बाँक–कोरोना संक्रमणको त्रासका बीच बाँके र बर्दियामा धान रोपाइँ तीव्र गतिमा भइरहेको छ । धान उत्पादन गर्ने प्रमुख जिल्लाका रुपमा रहेको बर्दियामा ५५ प्रतिशत र बाँकेमा ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ ।
कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार गत वर्षको तुलनामा छिटो धान रोपाइँ भइरहेको छ । पश्चिम क्षेत्रमा बाँके र बर्दिया धान उत्पादन गर्ने प्रमुख जिल्ला हुन् । बर्दियामा ५० हजार २ सय ५० र बाँकेमा ३६ हजार ५ सय हेक्टर जमिनमा धान रोपाइँ हुन्छ । बर्दियामा ५ सय ३ हेक्टर जमिनमा चैत धान पनि रोप्ने गरिएको छ ।
मनसुनको आगमन छिटै भएकोले यस वर्ष धान रोपाइँ छिटो भएको बताउँछन् कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल । उनले भने, ‘यस वर्ष मनसुन बाँके र बर्दियामा छिटै प्रवेश गरेको थियो । सिँचाइका लागि वैकल्पिक सुविधाहरु पनि थपिँदै गएका छन । यसले पनि धान रोपाइँ छिटो भएको हो ।’
बाँके र बर्दियामा रोपाइँ छिटो भएपछि धान उत्पादनमा पनि वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र्र बाँकेका प्रमुख ढकालले भने, ‘पश्चिम तराईको क्षेत्रमा प्राय मनसुन ढिला आउने र छिटै फर्कने गरेको रेकर्ड छ । यसले गर्दा असोज महिनातिर जमिन सुक्का हुने भएकोले धान उत्पादनमा असर गरेको थियो । तर यसपटक छिटै मनसुनको आगमन भएपछि धान उत्पादनमा पनि वृद्धि हुन सक्छ ।’
गत वर्ष बाँकेमा १ लाख २४ सय र बर्दियामा २ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । बाँके र बर्दियामा असार महिना सम्म धान रोप्दा मौसमले साथ दिने गरेको बताइन्छ ।

किसानलाई मलकै चिन्ता

धान रोपाइँ छिटो भएपनि बाँके र बर्दियाका किसानलाई विगतको जस्तो मलको अभाव छ । मलको अभाव हुने समस्या बाँके र बर्दियाका किसानका लागि नयाँ होइन । हरेक वर्ष यहाँका किसानले मल किन्न पनि कडा दौडधुप गर्नु पर्छ ।
बाँकेको खजुरा गाउँपालिका अगुवा किसान लाल बहादुर खत्रीले मल अभाव बाँकेका किसानका लागि सधैको समस्या भएको बताए । लकडाउन भएका कारण भारतबाट अहिले मल आउन सकेको छैन । अवैध बाटोबाट आएको मल मँहगोमा बिक्री भैरहेको बताउँछन बाँकेका किसान ।
धानको बीउ रोप्ने समयमा युरिया मलको अभाव भएको थियो । समयमा मल नपाउँदा उत्पादनमा पनि ह्रास हुने बताउँछन खजुरा गाउँपालिका किसान लाल बहादुर खत्री । उनले भने,‘किसानलाई मलको सार्है समस्या छ । यो सधैको समस्या हो । मलमा ठुलै समुहको चलखेल हुन्छ । जसले अनुदानको मल पनि मँहगो पर्छ किसानलाई । भारतबाट आउने मल भन्दा पनि महँगो पर्छ अनुदानको मल । किसानले जति भने पनि समस्या समाधान हुदैन । अब त भन्न पनि मन लाग्दैन ।’
बाँके र बर्दियामा युरिया, पोटास, डिएपी मलहरु बढि प्रयोग गरिन्छ । बाँकेमा अहिले १ बेरा युरिया ७ सय ५०, पोटास १८ सय र डिएपी २४ सय रुपैयामा बिक्री भैरहेको छ । महँगोमा बिक्री भएको मल समेत पाउन किसानलाई मिहिनेत गर्नु पर्ने बाध्यता रहेको खत्रीले बताए ।
–नागरिक दैनिकबाट

Womui
Womui