मैनापोखरको जनजीवन सामान्य, नेपालगन्ज, गुलरिया र राजापुरको निषेधाज्ञा यथावत

162

छिनछिन खबर
बर्दिया, भदौ २०

गत शुक्रबार आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा इलाका प्रहरी कार्यालय प्रहरी हवल्दार देवबहादुर पाण्डे मारिएपछि प्रभावित बनेको गुलरिया मैनापोखरको जनजीवन अहिले सामान्यतर्फ उन्मुख हुँदै गएको छ । घटनापछि बन्द भएका बजार खुलेका छन् भने घरायसी सामान किनमेल गर्नेको बजारमा घुइँचो देखिएको छ । यहाँ मानिसको चहल पहल बढेसँगै फाट्ट फुट्ट मोटरसाइकल पनि चलिरहेका छन् ।

गत शुक्रबार बर्दियाको मैनापोखरमा आन्दोलरत थरुहटका कार्यकर्तासँगको झडपमा गोली लागेर प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको थियो ।मैनापोखरमा बिहान यात्रु बाहक बसलाई आन्दोलनकारीले तोफोड गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा दोहोर झडप भएको थियो । झडपका क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथै करिव ५ राउण्ड हवाई फायर गरेको थियो ।अञ्चल प्रहरी प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्यातका अनुसार ठूलो संख्यामा उपस्थित आन्दोलनकारीले प्रहार गरेको गोली लागेर इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी हवल्दार पाण्डे घाइते भएकोमा उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको  थियो । घटनामा संलग्न भएको आरोमा मैनापोखरका रामनरेश चौधरी, अविनास थारु र रामहर्ष चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए । पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न माग गर्दै मैनापोखर बजारमा स्थानीयले प्रदर्शन समेत गरेका छन् । थरुहट थारुवान संयुक्त संघर्ष समितिले थारु प्रदेश माग्दै आह्वान गरेको अनिश्चितकालीन बन्दले पश्चिम कञ्चपुरदेखि पूर्व नवलपरासीसम्मको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

यसैबीच स्थानीय प्रशासनले  गुलरिया सदरमुकाम र राजापुर नगरपालिका क्षेत्रमा जारी गरेको निषेधाज्ञा यथावत छ भने नेपालगन्जमा ढुंगा प्रहारबाट मोटर साइकल चालक करण सिंहको निधन भएपछि बाँके जिल्ला प्रशासनले नेपालगन्जमा लगाएको निषेधाज्ञा पनि यथावत नै छ । नेपालगन्जमा गत शुक्रबार राति ९ बजेदेखि स्थानीय प्रशासनले नेपालगन्ज उप–महानगरपालिकाको राँझा चोकदेखि दक्षिण जमुनाहासम्म, पूर्वमा फुल्टेक्रादेखि पश्चिममा नन्दनी मिलसम्म निषेधाज्ञा लगाएको थियो ।

 

Womui
Womui