बाढीमा फसेका ११ जनाको सकुशल उद्धार, गाउँपालिका अध्यक्ष आफै खटिए उद्धारमा

95

कुमार ओली

नेपालगन्ज, असार ७
राप्तीको बाढीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका अन्र्तगत राप्ती नदीको बीच टापुमा फसेका ११ जनाको राती उद्धार गरिएको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना(ललही) गाउँका ५ जना महिलाको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा र राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ राजपुरका ६ जनालाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो । घाँस काट्न नदीको बीच टापुमा पुगेका महिलाहरु नदीमा बाढी बढेपछि अड्किएका थिए ।

राती पौने ९ बजेतिर गाउँपालिका अध्यक्ष थारुलाई फोन आएपछि उनी आफैले गाडीमा रबर बोट(डुंगा) राखेर नदीमा पुगे । रबर बोटमा हावा भरिसकेपछि स्थानीय ५ जना युवालाई राखेर गाउँपालिका अध्यक्ष थारुले आफै चलाए । रातको अन्धकार समयमा टापुमा फसेका ब्यक्तिलाई उद्धार गर्नु त्यती सहज थिएन । ‘टर्चको सहारामा रबर बोट चलाउँदै फसेका महिलालाई उद्धार गर्न सफल भयौं,’ अध्यक्ष थारुले भने ‘नदीमा महिलाहरु फसेका छन् भन्ने खबर आएपछि म हतारमा गाडी आफै चलाएर गाउँपालिकाबाट रबर बोट ल्याएर आएँ, रबर बोटमा हावा भर्दा केही समय लाग्यो, महिलालाई उद्धार गरिसक्दा रातको साढे ११ बजिसकेको थियो ।’

रातको समयमा उद्धार गर्नु जोखिम भएपनि आफ्ना जनतालाई अप्ठ्यारो पर्दा उद्धार गर्न पाउँदा गर्व लागेको अध्यक्ष थारुले अनुभुती सुनाए । गाउँपालिका अध्यक्ष रबर बोट लिएर बीच टापुमा पुग्दा महिलाहरु आगो बालेर बसिरहेका थिए । उनीहरुको साथमा मोबाइल थिएन । महिलाका घर परिवार र छिमेकीले नदीको बीच टापुमा उनीहरु फसेको कुरा गाउँपालिका अध्यक्ष थारुका स्वकिय सचिव सन्तोष चौधरीलाई खबर गरे । सन्तोषले खबर गरेपछि अध्यक्ष आफै उद्धार कार्यमा खटिएका हुन् ।

राप्ती नदीमा भैसी चराउन गएका राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ राजपुरका ३ जना ब्यक्ति नदीको टापुमा फेसका थिए । नदीमा बाढी बढेपछि अड्किएका ३ जनालाई उद्धार गर्न गाउँका थप ३ जना उद्धार गर्न पुगेका थिए । बाढी बढेपछि उनीहरु पनि फसेपछि सम्शेरगन्जबाट सशस्त्र प्रहरी टोली पुगेर ६ जनाको राती साढे १० बजेतिर सकुशल उद्धार गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक रामबहादुर कुरुङवाङले ११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । अहिले राप्ती नदीमा पानीको सतह घटिसकेको उनले बताए । राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा नदीको सतह ५ मिटर ९० सेन्टिमिटर सम्म पुगेको थियो ।

Womui
Womui