बिजुलीसँगै एमबीबीएस चिकित्सक पाउँदा तङ्ग्रिँदै बाँकेको नरैनापुर

53
डा. सागर पन्तलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह ।

खड्क खत्री
नेपालगन्ज– विभिन्न आरोहअवरोह पार गर्दै बाँकेको नरैनापुर गाउँपालिका अहिले सामान्य स्थितिमा आएको छ । लकडाउनमा करिब ११ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न बाध्य गाउँपालिकाले कोरोना भाइरसका कारण एकजनाको ज्यानसमेत गुमाउन पुग्यो । एकातिर क्वारेन्टाइन व्यवस्थापनमा हम्मे हम्मे परेको गाउँपालिकामा एकको मृत्यु हुँदा गाउँपालिका अध्यक्षलगायत पूरै गाउँ शोकमग्न बन्न पुग्यो ।

आन्तरिक आयस्रोत शून्य बराबर गाउँपालिकाले एक दुई संस्थाबाट सामान्य सहयोगबाहेक ठूलो आर्थिक सहयोग प्रदेश सरकारबाट मात्र पाइरहेको अवस्थामा क्वारेन्टाइनमा एकको मृत्यु हुन पुग्दा आहालबेहाल भएको गाउँपालिका गाउँवासीलगायत अन्यको तारो समेत बन्न पुगेको तीतो अनुभव सङ्गालेका छन् गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले ।

तराइको सुगम क्षेत्रमा पनि नरैनापुर गाउँपालिकाले अनेकन् समस्या झेल्दै बिजुली अभावमा वर्षौ बिताएको छ । त्यस्तो अवस्थामा क्वारेन्टाइन व्यवस्थापन गर्नु ठूलो चुनौती थियो गाउँपालिकालाई । त्यसमाथि आर्थिक अभाव । यस्तो अवस्थामा इस्तियाक अहमद शाह जस्तो धैर्यवान अध्यक्ष नपाइदिएको भए नरैनापुरको अवस्था झनै भयावह हुन सक्ने स्थानीयवासी बताउँछन् । क्षमताले भ्याएसम्म कोरोना भाइरससँग प्रत्यक्ष लड्यो गाउँपालिका । यता गाउँपालिका अध्यक्ष भने यस्तो अवस्थासँग जुध्न सबैको साथ र सहयोग नभएको भए सम्भव नहुने बताउँछन् ।

अहिले गाउँपालिका लगभग सामान्य अवस्थामा फर्किसकेको छ । बाँकेका स्थानीय तहमा सबै भन्दा बढी कोरोना संक्रमित भएको गाउँपालिका र अव्यवस्थित क्वारेन्टाइनमा भरिभराउ शंकास्पद कोरोना संक्रमितको नतिजा नेगेटिभ आएसँगै घर फर्किएपछि केही राहत महसुस भएको गाउँपालिका अध्यक्ष शाह बताउँछन् । र विस्तारै विकासले गति पनि लिन थालेको छ गाउँपालिकामा ।

यतिबेला गाउँपालिकामा हप्ता दिनमै बिजुली पुग्न थालेको छ भने भौतिक पूर्वाधारको स्वास्थ्य चौकी हुँदाहुँदै पनि डाक्टर अभाव झेलिरहेको गाउँपालिकाले एमबीबीएस डाक्टर पनि पाएको छ । नरैनापुर २ मा रहेको लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी रहे पनि एमबीबीएस डाक्टर नपाउँदा उक्त पद रिक्त थियो । कोरोना भाइरसले ठूलो चोट दिए पनि बिजुली बत्ती र चिकित्सक पाउँदा अहिले गाउँपालिकावासीले केही राहत महसुस गरेको अध्यक्ष शाहले बताए । डा. सागर पन्तको प्रत्यक्ष निगरानीमा अब उक्त स्वास्थ चौकी रहने छ । नरैनापुर गाउँपालिकाका सांसद, प्रदेश सरकारलगायत सरोकारवालाको समन्वयमा दरबन्दी अनुसार चिकित्सक उपलब्ध भएको अध्यक्ष शाहले जानकारी दिए ।

अध्यक्ष शाहका अनुसार कोरोना भाइरसले विक्षिप्त गाउँपालिकावासीले ठूलो त्यागपश्चात बिजुली बत्ती र चिकित्सक पाएका हुन् । त्यसैले उक्त त्यागको फलको स्वाद अब गाउँपालिकावासीले लिने दिन आएको छ । नरैनापुर गाउँपालिकामा चिकित्सक पुगेपछि त्यहाँका जनताले स्वास्थ्य सम्बन्धी पाउँदै आएको समस्या समाधान हुने विश्वास गरिएको छ । पहिले स्वास्थ्य सम्बन्धी कुनै समस्या आए ३५ किलोमिटर टाढा रहेको नेपालगन्ज धाउन बाध्य थिए त्यहाँका नागरिक ।

Womui
Womui