कोरोनाबाट मृत्यु भएका परिवारको मलहम बन्दै नरैनापुर गाउँपालिका

107
पीडित परिवारलाई चेक हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह ।

बाँके(नरैनापुर)–पछिल्लो समय नरैनापुरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका युवकको परिवारको लागि मलहम बन्दै गएको छ गाउँपालिका । मृतक परिवारलाई आर्थिकलगायत भाैतिक सहयोग गरेर पीडित परिवारको दुःखमा मलहम बन्दै नरैनापुर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ । अध्यक्ष इस्तियाक अहमद शाहले शुक्रबार मृतक युवकको घर वडा नम्बर ५ नयाँ बस्ती पुगेर परिवारलाई क्रिया खर्च स्वरुप ५० हजार रुपैयाँको चेक प्रदान गरेका हुन् ।

मृतक युवकका बुबा, आमा र श्रीमतीलाई चेक हस्तान्तरण गर्दै अध्यक्ष शाहले भने,‘अहिलेलाई क्रिया खर्च स्वरुप ५० हजार दिएका हौं, अब मृतकको परिवारलाई घर बनाउन गाउँपालिकाले ३ लाख रुपैयाँ दिन्छ,” अध्यक्ष शाहले थपे-“बालबच्चाको लागि मैले पनि व्यक्तिगत ५० हजार रुपैयाँ दिन्छु ।” पीडित परिवारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष शाहले बताए। “यो नराम्रो घटनाले हामी सबैको मन रुवाएको छ, यो दुःखको घडीमा मनलाई सम्हाल्नुस्, म हरेक पल तपाईंहरुसँगै छु,” अध्यक्ष शाहले पीडित परिवारलाई सान्त्वना दिँदै भने,”अब यी दुई बालबच्चाको भविष्य राम्रो बनाउन लाग्नुपर्छ, त्यसका लागि म हरपल सहयोग गर्न तत्पर छु ।”

अध्यक्ष शाहले खाद्यान्न, तेल, नुन, दाल, झुललगायतको राहत सामग्री पनि मृतक युवकको परिवारलाई प्रदान गरेका छन् । त्यस अवसरमा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, गाउँपालिकाका योजना शाखा प्रमुख विजय यादव, प्रशासन प्रमुख भरत महतो, सूचना अधिकारी लक्ष्मीकान्त मिश्रलगायतको उपस्थिति रहेको थियो । गत जेठ ४ गते क्वारेन्टाइनमै बसेका बेला वडा नम्बर ५ नयाँ बस्तीका २५ वर्षीय युवकको मृत्यु भएको थियो । मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो । भारतको मुम्बइबाट आएका उनी भगवानपुरको दिपेन्द्र प्रावि क्वारेन्टाइनमा थिए ।

Womui
Womui