कोरोना भाइरसको निहुँमा कर्मचारी हाजिर भएनन्

223

बाँके(राप्तीसोनारी), जेठ २४-
राप्तीसोनारी गाउँपालिकाले कर्मचारी अभावको समस्या झेलिरहेको छ । गाउँपालिकामा दरबन्दी भएर पनि कतिपय कर्मचारी नियमित रुपमा हाजिर नभएपछि कर्मचारी अभावको समस्या बल्झिएको हो । हाल कोभिड १९ कारण दरबन्दी भई कतिपय कर्मचारी नियमित हाजिर नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । कर्मचारी हाजिर नहुँदा आर्थिक वर्षको अन्त्य हुनै लाग्दा कतिपय कामहरु प्रभावित हुन पुगेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । गाउँपालिका कार्यालयले कर्मचारीका लागि एक सूचना नै प्रकाशित गरेर जेठ २५ गतेभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

गाउँपालिकाका योजना शाखा प्रमुख बालानन्द पौडेलले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ’आर्थिक वर्षको अन्त्य हुनै लागेको सन्दर्भमा चालु आर्थिक वर्षका कतिपय कार्यक्रमहरु तत्काल सम्पन्न गर्नुपर्ने भएको र आगामी आर्थिक वर्ष २०७७/७८ का योजना तथा कार्यक्रमहरु समेत समयमै तयार गर्नुपर्ने भएकोले यस कार्यालय र मातहत निकायका सबै कर्मचारीहरु २०७७/२/२५ गते देखी कार्यालयमा अनिवार्य रुपमा हाजिर भई नियमित कामकाज गर्न हुन आदेशानुसार जानकारी गराइन्छ । अन्यथा प्रचलित कानुन बमोजिम कारवाही भईजाने ब्यहोरा समेत अनुरोध छ ।’

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले कर्मचारी अभावले गर्दा गाउँपालिकाको विकास निर्माणका साथै सेवाग्राहीको काम काज गर्न समस्या हुदै आएको बताए । संघिय सरकारले सुरु देखी नै गाउँपालिकालाई कर्मचारी नदिएको उनको गुनासो छ । ’संघिय सरकारले न आफुले कर्मचारी पठाउँछ, न त गाउँपालिकालाई कर्मचारी भर्ना गर्न दिन्छ,’ उनले भने ।

Womui
Womui