किन दिइयो घर फर्कदा कोरोना परीक्षण प्रमाणपत्र ?

239

नेपालगन्ज– प्रदेश नम्बर ५ को अर्घाखाँची सन्धिखर्क नगरपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना परीक्षण गर्दै नेगेटिभ आएकोलाई प्रमाणपत्र दिएर घर पठाउने गरेको छ । क्वारेन्टाइनमा बसेका मानिस गाउँ फर्कंदा घृणा नहोस् भनेर परीक्षणको प्रमाणपत्र दिएर पठाएको नगरपालिकाका कार्यकारी अधिकृत ज्ञवालीले बताए । उनका अनुसार गाउँमा लुकिछिपी भित्रिएका मानिसको पहिचानका लागि पनि प्रमाण पत्र दिइएको हो । भारतबाट फर्कनेको चाप थेगिसक्नु भएको बताउँदै नगरपालिकाका कार्यकारी अधिकृत जीवन ज्ञवालीले १४ दिन क्वारेन्टाइन बसेकालाई आरडिटी गर्दै नेगेटिभ आएमा प्रमाणपत्र दिएर घर पठाउँदा एकातिर उनीहरु घृणाको सिकार हुनु नपर्ने र अर्को यदि लुकीछिपी गाउँघर आएका भए पत्ता लगाउन सजिलो होस् भनेर प्रमाण पत्र दिइएको बताए ।

गाउँ फर्केका नयाँ अनुहारका मानिस देखा परे कोरोना परीक्षणको प्रमाणपत्र नगरपालिकालगायत नगरपालिकावासीले पनि चेकजाँच गर्न सक्ने भएकोले लुकीछिपी जिल्ला पस्नेलाई निरुत्साहित गर्न प्रमाण पत्र दिएर नगरपालिकाले घर पठाउने गरेको छ । यसरी प्रमाण पत्र लिएर घर फर्केकालाई अनिवार्य रुपमा एक हप्ता होम क्वारेन्टाइनमा बस्नसमेत नगरपालिकाले आग्रह गरेको छ । १७१ जनालाई नगरपालिकाले प्रमाणपत्र दिएर घर पठाएको छ ।

क्वारेन्टाइनबाट घर फर्किएकाले कोरोना परीक्षणको प्रमाण पत्र सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको थियो ।

Womui
Womui