बिजुली र चिकित्सक नहुँदा आइसोलेसन बनाउन समस्याः अध्यक्ष शाह

66

अनुगमनमा नरैनापुर पुगेका युनिसेफका प्रतिनिधि र गाउँपालिका कर्मचारीसँग गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाह (दौरा सुरुवाललगाएका) ।

बाँके(नरैनापुर)– नरैनापुरमा तत्कालै आइसोलेसन अस्पताल बनाउन समस्या देखिएको नरैनापुर गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले बताएका छन् । नरैनापुरस्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा आइसोलेसन अस्पताल बनाउने भनिएपनि बिजुली र चिकित्सक नहुँदा बनाउन समस्या देखिएको अध्यक्ष शाहले बताएका हुन् । युनिसेफका प्रतिनिधिले मंगलबार बाँकेको नरैनापुर गाउँपालिकाका क्वारेन्टाइन र प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन् । सोही क्रममा अध्यक्ष शाहले आइसोलेसन अस्पतालबारे जानकारी गराउने क्रममा उक्त कुरा बताएका हुन् ।

अनुगमनमा युनिसेफका प्रतिनिधिहरु, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक पनि नरैनापुर पुगेका थिए । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र क्वारेन्टाइन व्यवस्थापकहरुसँग उनीहरुले छलफल गरेको स्वास्थ्य शाखा सहसंयोजक नागेन्द्रकुमार शाहले जानकारी दिए ।

युनिसेफका उपप्रतिनिधि जेम्स म्याक्वेन प्याट्टरसन, युनिसेफ नेपालगन्ज पोषण अधिकृत प्रकाशचन्द्र जोशीलगायतको टिम र स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक अंगदबहादुर शाही र जनस्वास्थ्य निरीक्षक एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आदर्श मावि लक्ष्मणपुर र मोतीपुर क्वारेन्टाइन तथा प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको अनुगमन गरेको सहसंयोजक शाहले बताए ।

क्वारेन्टाइन अनुगमन गरिँदै ।
क्वारेन्टाइनको अवस्थाबारे जानकारी गराइँदै ।

अनुगमनमा गएको टोलीले पनि बिजुली नपुग्दासम्म तत्काल आइसोलेन सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको अध्यक्ष शाहले बताए । क्वारेन्टाइनमा बस्नेहरुको संख्या कम हुँदै गएकाले अहिले क्वारेन्टाइन व्यवस्थापनमा पहिले जस्तो समस्या नभएको आफूले अवगत गराएको अध्यक्ष शाहले बताए । त्यसक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, स्वास्थ्य शाखा संयोजक मोइन खाँ, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायतले कोभिड १९ नियन्त्रणका लागि भइरहेका प्रयास, भोग्नुपरिरहेको समस्या र क्वारेन्टाइन व्यवस्थापनबारे जानकारी गराएका थिए । नरैनापुरमा हालसम्म ९ सय ७८ जना क्वारेन्टाइनमा बस्दा संक्रमण नभएर ७ सय ९ जना घर फिर्ता भएका छन् । कालाफाँटामा कार्यरत गुल्मीका प्रहरी जवान सहित १ सय १६ जना संक्रमित भएकोमा एकजनाको मृत्यु भएको छ भने ३ जना उपचारपछि घर फर्केका छन् । अहिले नरैनापुरका क्वारेन्टाइनमा १ सय ५३ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका कारोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

Womui
Womui