कांग्रेस नेता कुर्मीले गरे गौघाटमा सहयोग

55

‘क्वारेन्टाइनमा बसेकाहरुलाई घरबाट खाना लग्दा संक्रमण फैलने खतरा’

सहयोग सामग्री हस्तान्तरण गर्दै पूर्व सभासद् एवम् नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बादसाह कुर्मीलगायत ।


गणेश राई
नेपालगन्ज–पूर्व सभासद् एवम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बादसाह कुर्मीले योगीनी उच्च मावि गौघाटको क्वारेनटाइनमा रहेका युवालाई सहयोग गरेका छन् ।
भारतबाट आएका ५६ जना स्थानीय योगिनी माविको क्वारेनटाइनमा बसिरहेका छन् । उनीहरुका लागि घरबाटै खानाको व्यवस्था गरिएको छ । आफूहरुलाई खजुरा गाउँपालिकाले उचित व्यवस्थापन नगरेको भन्दै क्वारेनटाइनमा बसेका युवाहरुले असन्तुष्टि जनाइरहेका बेला पूर्व सभासद कुर्मी गौघाट पुगेका हुन् । क्वारेनटाइनमा भएका जनतालाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यले गौघाट पुगेको कुर्मीले बताए । उनले भने, ‘यो संकटको बेला सबैले हातेमालो गरेर काम गर्नु पर्छ । स्थानीय निकायले अझ जिम्मेवारी ढंगले काम गर्नु पर्छ । अप्ठयारोमा परेकालाई सबैले आफनो तर्फबाट सक्दो सहयोग गर्न सबैलाई अपिल गर्छु ।’
शनिबार कुर्मीले क्वारेटाइन व्यवस्थापनका स्थानीय प्रतिनिधि कर्ण बहादुर बुढा, राजकिशोर महतारा, नेपाली कांग्रेस सीतापुर कमिटी अध्यक्ष राम बहादुर महताराको उपस्थितिमा सहयोग सामग्री हस्तान्त्रण गरेका थिए । पूर्व सभासद कुर्मीले क्वारेनटाइनमा बसेकालाई सेनिटाइजर, मास्क, बिस्कुट सहयोग गरेको नेपाली कांग्रेसका स्थानीय नेता कोमल सिंहले बताए ।
क्वारेटाइनमा बसेका एक युवाले आएको १० दिन बित्दासमेत परिक्षण नभएको गुनासो ब्यक्त गरे । उनले भने, ‘क्वारेनटाइनमा हुनु पर्ने सुविधा छैन । एउटै शौचालयमा ५० जना भन्दा बढी जानु पर्ने बाध्यता छ । पानी पिउनका लागि जगको समेत सुविधा छैन । स्थानीय नेतालाई भन्दा गाउँपालिकाले ५० हजार मात्र बजेट दिएको छ भन्छन् ।’

नेपाली कांग्रेसका स्थानीय नेता राजकिशोर महताराले क्वारेन्टाइनमा बसेकालाई घरबाट खाना लिएर आउँदा झन जोखिम बढेको बताए । उनले भने, ‘गाउँपालिकाले क्वारेनटाइनमा बसेकाहरुलाई आ आफनो घरबाट खानाको व्यवस्था गर्न भनेको छ । यहाँ बच्चा, दीर्घ रोगी, बुढापाखाले दैनिक खाना लिएर आउँछन् । यसले समुदायमा झन संक्रमण फैलने खतरा छ । क्वारेनटाइनमा बसेकाहरुले पनि यसले गाउँ सुरक्षित नभएको बताएका छन् । तर यसमा गाउँपालिकाले ध्यान दिएको छैन ।’

Womui
Womui