वडाध्यक्ष बस्नेत भन्छन्,‘अरुलाई बचाउने क्रममा आफै संक्रमित भएँ’

192
वडाध्यक्ष खुमबहादुर बस्नेत ।

धनवीर बिक
बाँके(राप्तीसोनारी)– राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले अरुलाई बचाउने क्रममा आफैं कोरोना भाइरसको संक्रमित भएको बताएका छन् । शिवशक्ति माविको क्वारेन्टाइनमा बसेका २८ जनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । जसमा वडाध्यक्ष बस्नेतसमेत संक्रमित भएको रिपोर्ट आएको थियो । कोरोना भाइरसको संक्रमित भएपछि उनी आइसोलेसनमा बसेका छन् । वडा नम्बर ८ स्थित शिवशक्ति माविको आइसोलेसनमा बसेका उनले भारतबाट आएर अलपत्र परेका ५९ जनालाई जेठ ८ गते उद्धार गरेर ल्याएका थिए ।

बुधबार साँझ थपिएका १६ जनामध्येमा आफूसमेत परेको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।  ४० वर्षीय कोरोना संक्रमित वडाअध्यक्षले भारतबाट आएका मानिसहरुको उद्धारदेखि व्यवस्थापनमा दिनरात खटिँदै आएको बताए । उनी लकडाउनको कारण समस्यामा परेका नागरिकहरुलाई राहत बाँड्न समेत आफैं खटिन्थे भने पत्रकारदेखि सुरक्षाकर्मीहरुसँग समेत घुलमिल रहने गरेका थिए ।

वडाध्यक्ष बस्नेतमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले उनी अइसोलेसनमा बसेका छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिने गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । गाउँपालिका अध्यक्ष थारुका अनुसार संक्रमित वडाअध्यक्षसँग सम्पर्कमा आएको भन्दै आफूलगायत उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका वडाअध्यक्ष र कर्मचारी क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेका छन् ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुँडालीका अनुसार बुधबार राप्तीसोनारीको वडा नम्बर ८ मा ५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि वडा नम्बर २ मा ३ जना, ७ मा २ र वडा नम्बर ९ मा २ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो भने गाउँपालिका भर अहिलेसम्म १२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । गाउँपालिकाले विभिन्न वडामा आइसोलेसन स्थापना गरिसकेको बताउँदै स्वास्थ्य शाखा प्रमुख चुँडालीले वडा नम्बर ५ मा संकलन गरिएको २१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको बताए ।  

यस अघि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारु पनि कोरोना भाइरसको संक्रमण भएको आशंकामा क्वारेन्टाइनमा बसेका थिए । तर वडा नम्बर ७ मा संकलन गरिएको ४६ जनाको स्वाब परीक्षणको नतिजामा दुई जनाकोबाहेक अन्यको रिपोर्ट नेगेटिभ आएको थियो ।

Womui
Womui