एकैदिन १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४२

66


छिनछिन खबर
काठमाडौं–
नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । बिहीबार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा १ सय ५६ जनाको कोरोनासम्बन्धी रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरानमा २ जनामा कोरोना संक्रमण देखिएको छ । दुवैजना सप्तरी जिल्लाका रहेका छन् । विराटनगरको कोसी अस्पतालमा २५ जनाको नमुना पोजेटिभ देखिएका छन् । संक्रमित २५ जना नै झापाका रहेका छन् ।  त्यसैगरी, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ७७ जनाको पोजेटिभ आएको छ । सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये बझाङका १ जना, सुर्खेतका १३ र दैलेखका ८ जना रहेका छन् ।

प्रदेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा ३ जनामा कोरोना देखिएको छ ।सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । हेटौँडामा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । उनीहरूमध्ये बर्दियाका ३ जना र १ जना बाँकेका हुन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू सबै रौतहटका रहका छन् ।

योसँगै नेपालमा बिहीबार मात्रै १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको हो । बिहीबारसम्मको विवरणअनुसार १ सय ८७ जना निको भएर घर फर्किएका छन् । निको हुने १ सय ४४ पुरुष, ४३ जना महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म ५ जनाको मृत्यु भएको छ ।

Womui
Womui