यार्सागुम्बा संकलनमा रोक लागेपछि स्थानीय चिन्तित

199
फाइल तस्बिर ।

दार्चुला-
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वभर फैलिरहेको भन्दै दार्चुलामा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ। हजारौंको संख्यामा यार्सागुम्बा संकलन गर्न जाने क्षेत्रमा संकलन अनुमति दिँदा जोखिम बढ्ने भएपछि संकलनमा रोक लगाइएको हो।

यार्सागुम्बा संकलनमा रोक लगाइएसँगै स्थानीयको आयस्रोत भने गुम्ने देखिएको छ। यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च जुटाउने दार्चुलाका अधिकांश स्थानीय तहका नागरिक यसपटक भने आर्थिक मन्दी हुने चिन्तामा छन्। अहिलेको समयमा आर्थिक स्रोतका रूपमा यार्सागुम्बा संकलन नहुँदा परिवारको आम्दानी स्रोत घट्ने अपिहिमाल गाउँपालिका ४ का स्थानीय उद्धवसिंह बोहराले बताए।

‘तीनदेखि चार हजार मिटरको उचाइमा पाइने यार्सागुम्बा टिप्न जेठको पहिलो सातादेखि अनुमति जारी हुँदै आएको थियो। तर, यसपटक भने अनुमति नदिने भएपछि हामी स्थानीयवासी निराश छौं,’ उनले भने, ‘कोरोनाको जोखिमभन्दा पनि घर खर्च र बालबालिकाको पठनपाठन कसरी गराउने चिन्ता पलाएको छ। हामी जडीबुटीमा आश्रित छौं।’ आयस्रोतका रूपमा यार्सागुम्बामा निर्भर रहेका यहाँका अधिकांश स्थानीयवासी यार्सा संकलन गरेर ऋण तिर्ने भन्दै एक वर्षदेखि नै खाद्यान्न किन्ने गर्छन्। यसपटक व्यापारीले पनि लगानी गरेका छैनन्। यार्सा बन्द भएपछि स्थानीयवासीले अहिले कसरी ऋण तिर्ने भन्ने समस्या रहेको बोहरा बताउँछन्।

अपी हिमाल गाउँपालिका २ का प्रेमसिंह कार्की यसपटक स्थानीय यार्सागुम्बा संकलन गर्न नपाएर समस्यामा पर्ने अवस्था आएको बताउँदै भन्छन्, ‘यसपटक घर खर्च चलाउनै मुस्किल हुने भयो, गाउँमा काम पनि छैन।’ कामको चटारो हुने यो बेला घरमै बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ। दार्चुलाको अपी हिमाल गाउँपालिका, मार्मा, व्यास, नौगाड गाउँपालिकाका धेरैजसो बासिन्दा यार्सा संकलन गर्न जाने गरेका छन्। विगतमा यसबेला विद्यालय बन्द गराएर हिमाली क्षेत्रका स्थानीयवासी यार्सागुम्बा संकलनमा जाने गरेका थिए। डेढदेखि दुई महिनासम्म हिमाली क्षेत्रमा यार्सागुम्बा र अन्य जडीबुटी संकलनमा व्यस्त रहने यहाँका स्थानीयवासी यसपटक भने बन्दाबन्दीले घरमै बस्न बाध्य छन्। हिमाली गाउँपालिकाका धेरैजसो मानिसको आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा हो । यसपटक लकडाउन (बन्दाबन्दी)का कारण यार्सागुम्बा संकलन पनि ठप्प भएको व्यास गाउँपालिका १ का विमल बोहराले बताए।

‘खेतपानी लगाउन पाइएको छैन, व्यापार गर्न नाका ठप्प छ, यार्सागुम्बा संकलनका लागि अनुमति दिइएको छैन। यसपटक कसरी परिवार पाल्ने भन्ने चिन्ता हुन थालेको छ,’ उनले भने, ‘सबै तवरले हामी समस्यामा परेका छौं, कुञ्चा ढिलाइ सर्दा खेतीपातीसमेत गर्न समस्या भएको छ।’ व्यासका स्थानीयवासी गाउँ उक्लिए पनि यसपटक गाउँमा गएर के गर्ने भन्ने अन्योलमा छन्। विगतमा यो बेला खेतीपाती सकेर यार्सागुम्बा संकलनका लागि लेकतिर जाने गरेका थिए। यहाँका स्थानीयवासी एक वर्ष अघिदेखि नै व्यापारीबाट उधारोमा सामान खरिद गर्ने गर्छन् भने छोराछोरी जिल्ला बाहिर पढाउन यार्सागुम्बाले सहयोग पुगेको थियो। स्थानीयवासीले एक सिजनमा पाँचदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका थिए।

अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अशोककुमार मेहता अहिले विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण जिल्ला संकट व्यवस्थापन केन्द्रले नै निर्णय गरेर यार्सागुम्बाको सङ्कलन अनुमति नदिने निर्णय गरेको बताउँछन् । ‘अहिलेको अवस्थामा संकलन अनुमति दिँदा जंगलमा पनि जोखिम बढ्ने खतरा हुन्छ,’ उनले भने, देश पूरै बन्दाबन्दीमा छ संकलनकर्तालाई अनुमति दिएपछि हजारौंको संख्यामा कोरोनाको जोखिम हुन्छ।’ मेहताका अनुसार बीउ उम्रिन नपाउँदै टिप्ने गरिएको थियो, एक वर्ष संकलन नभए अर्को वर्ष उत्पादन बढी हुन्छ र एक वर्ष संकलन नभए बीउ फैलिनुका साथै पुरानो बिरुवा पनि हुर्किन पाउँछ। अपि नाम्पा संरक्षण क्षेत्र यार्सागुम्बा संकलनका लागि स्थानीयवासी जंगल गएरनगएको समेत निरीक्षण गरी फर्किएका छन्। यसैसाता अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले रेञ्जर भुवनेश्वर चौधरीलगायतको टोलीलाई अपि हिमाल गाउँपालिकामा पठाएर यार्सागुम्बा सङ्कलनका लागि मान्छे लेक गएरनगएकाबारे निरीक्षण गरी फर्किएको छ।दार्चुलामा वर्षेनि १० हजारको हाराहारीमा यार्सा गुम्बा संकलन गर्न स्थानीयवासी लेक जाने गर्छन्।

रासस

Womui
Womui