संक्रमण देखिएपछि राप्ती सोनारीमा सतर्कता बढाइयो

43

बाँके(राप्तीसोनारी), जेठ १०-
पहिलो कोरोना संक्रमित फेला परेपछि राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सर्तकता बढाइएको छ । राप्तीसोनारीका ९ वटै वडामा सर्तकता बढाइएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । ‘राप्तीसोनारीमा पहिलो पटक कोरोना संक्रमित फेला परेपछि थप सर्तकता बढाएका छौं, गाउँपालिकाबासीलाई अत्यावश्यक काम बाहेक कतै आवत–जावत र भिडभाड नगर्न अनुरोध गरेका छौं,’ उनले भने ।

भारतको महाराष्ट्रस्थित ‘नासिक’ भन्ने ठाउँबाट फर्केका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ निवासी १८ बर्षिय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भर्ना भइरहेको अवस्थामा प्रयोगशालामा कोरोना जाँच गर्दा पोजिटिभ देखिएको हो । वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओलीका अनुसार युवक यही जेठ ७ गते नेपाल प्रवेश गरेका थिए । उनीसहित उक्त वडाका ४ जनालाई वडा नम्बर ९ स्थित गणेश माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । उक्त क्वारेन्टाइनमा शुक्रबार फर्केका समेत गरी अझै ६ जना बसिरहेका छन् ।

सिमा प्रवेश गरेकै दिन ती युवकलाई ज्वरोको लक्षण देखिसकेको थियो । ‘ज्वरोले झन् च्यापेपछि भोलीपल्ट(जेठ ८ गते) उनलाई हाम्रै एम्बुलेन्सबाट भेरी अस्पतालमा पठायौं, अस्पतालले स्वाब संकलन गरिदियो, अस्पतालमै रहँदा युवकलाई कोरोना भाइरस पोजिटिभ देखियो,’ वडाअध्यक्ष ओलीले भने । कोरोना संक्रमित १८ बर्षिय युवकलाई भेरी अस्पतालबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा सारिएको छ । युवकमा कोरोना पोजिटिभ देखिए लगत्तै आफुले अन्य ब्यक्तिको पनि कन्ट्रयाक्ट टे«सिङमार्फत स्वाब संकलन गरिदिन आग्रह गर्दा अहिलेसम्म नभएको वडाअध्यक्ष ओलीको गुनासो छ । उनले भने, ‘अस्ति बिरामीलाई भेरी अस्पतालमा पनि धेरै प्रयास गरेर लगिएको हो, युवकलाई पोजिटिभ देखिएपछि अन्य ब्यक्तिको पनि स्वाब संकलन गरिदिन आग्रह गर्दा सुनुवाई भएन,’ उनले भने ।

भारतबाट फर्केर आएका ब्यक्तिलाई राप्तीसोनारीका विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले शुक्रबारसम्मको तथ्यांक अनुसार क्वारेन्टाइनमा १ सय ४० जना बसिरहेको बताए । ‘क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिहरु भारतबाट फर्केर आएका हुन्, अझै फर्किने क्रम चलिरहेको हुँदा संख्या बढ्ने निश्चित छ,’ उनले भने । क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिलाई नेपाल सरकारको निर्देशिका अनुसार ब्यवस्थापन गरिएको बस्नेतले बताए ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले शुक्रबार कोरोना संक्रमण पुष्टी भएका नरैनापुर गाउँपालिका वडा नम्बर ३ का १३ जनालाई लायन्स डेन्टल अस्पताल नेपालगन्ज र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का संक्रमितलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा राखिएको श्रेष्ठले जानकारी दिए । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ मा बिहीबार संकलन गरिएको ४६ जनाको स्वाबको रिपोर्ट भने अझै आएको छैन । भेरीको प्रयोगशालामा चाप बढेपछि उक्त स्वाब परिक्षणका लागि दाङको घोराही लगिएको छ । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री र स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले स्वाब दाङ पुर्याएर फर्किएका थिए ।

Womui
Womui