‘कर्मचारीको मनोबल बढाउँदै कोरोनाविरुद्ध अघि बढ्न आवश्यक’

121

बाँकेको नरैनापुर गाउँपालिकामा एकै दिन ५९ जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकालाई उच्च जोखिमयुक्त क्षेत्र (रेड जोन) घोषणा गर्दै पूरै गाउँपालिकालाई जेठ ५ गते सिल गरिएको छ । एकैपटक ४७ जनामा संक्रमण फेला परेपछि सोमबार बेलुका बसेको जिल्ला सुरक्षा समितिको बैठकले गाउँपालिकाका सबै वडाहरुमा हुने अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवागमनमा रोक लगाउने निर्णय गर्यो  ।  नरैनापुर गाउँपालिकाका एकको मृत्यु सहित ११४ जनामा कोरोना भाइरसका संक्रमित देखिएपछि त्यहाँको अवस्था त्रासपूर्ण रहेको छ ।  यस्तो अवस्थामा नरैनापुर गाउँपालिकाको अवस्था, त्यहाँ रहेका क्वारेन्टाइनको व्यवस्थापन, स्थानीयबाट आएका जनगुनासा र कोरोना भाइरस न्युनीकरणका लागि कर्मचारीले खेलेको भूमिकालगायतका विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालसँग छिनछिन खबरका लागि रमण ओलीले गरेको कुराकानी

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल ।

नरैनापुर हटस्पट बनेको छ । अहिले त्यहाँको स्थिति कस्तो छ  ?

अहिले यहाँको अवस्था अत्यन्तै त्रसित छ । यहाँको समुदायमा जनचेतनाको कमीले गर्दा पनि यहाँको माहोल त्रसित बन्न पुगेको छ । अहिले यहाँ कर्मचारीदेखि लिएर सबै त्रसित अवस्थामा छन् । क्वारेन्टिनमा भएकाहरु पनि अनुशासनमा नबस्ने, बाहिर निस्कने, त्यस्तै क्वारेन्टाइनबाट भाग्ने र भगाउने क्रम चलिरहेकाले पनि कोरोना भाइरस गाउँपालिका भर फैलिने हो कि भन्ने यहाँको स्थिति छ । जसले कोरोना भाइरसबारे बुझेका छन् उनीहरु सबै त्रसितपूर्ण माहोलमा बस्न बाध्य छन् ।

भारतबाट ठूलो संख्यामा मानिसहरु आएका छन् ? उनीहरुको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

एकदम गाह्रो छ । अहिले यहाँ ८ सय जना जति छन् ।  हिजो मात्र ५१ जना फेरि थपिएका छन् । यहाँ दु्ई चार घरबाहेक पक्की घर कतै छैनन् भने पूर्वाधार अभाव भएकाले पनि भारतबाट आएकाको व्यवस्थापन गर्न चुनौती थपिएको छ । यहाँका स्कुलमा क्वारेन्टाइन बनाइएको छ । टिनको छानो र पक्की भुइँका विद्यालय छन् यहाँ । त्यसले गर्दा माथिबाट तातिने र तलबाट चिसिने भएकाले पनि यहाँको क्वारेन्टाइनमा मानिसहरु सहजै बस्न मान्दैनन् ।

कोरोना भाइरस संक्रमण रोकथामका क्रममा कर्मचारीले ध्यान नदिएको भन्ने स्थानीयले गुनासो गरिरहेका छन् नि ?

यो एकदम गलत हो । हामी कर्मचारी दिनरात काममा खटिइरहेका छौं । सरकारद्वारा जारी निर्देशनलाई पालना गरेर भीडभाड नहुने गरी कार्यसम्पादन गरिरहेका छौं । लकडाउन अगाडि गाउँपालिकामा कर्मचारीको देखिने भिड र लकडाउनपश्चात् देखिने भिडका कारण पनि गुनासो आउनु स्वभाविकै हो । तर गाउँपालिकामा कर्मचारी देखिँदैनन् भन्दैमा कर्मचारीले काम नगरेको भन्न मिल्दैन । फेरि अर्को कुरा क्वारेन्टाइन व्यवस्थापनमै सबै कर्मचारी खटिने कुरा पनि आउँदैन । हामी जति कर्मचारी छौं दिनरात खटेर काम गरिरहेका छौं । काम गर्ने क्रममा हाम्रा दुईजना स्वास्थ्यका कर्मचारीसमेत बिरामी पर्नु भयो । उहाँहरुलाई अहिले होम क्वारेन्टाइनमा राखेका छौं ।

कोरोना भाइरस रोकथाममा आएका मुख्यमुख्य समस्या के के होलान ?

आइसोलेसन वार्डको हो । जुन जिल्लाकै समस्याका रुपमा पनि देखा परेको छ । त्यसैले यहाँको मुख्य समस्या भनेको क्वारेन्टाइन व्यवस्थापन नै हो । बाहिरबाट आएकालाई कसरी क्वारेन्टाइनमा राख्ने हो र उनीहरुलाई टिनको छानो भएको विद्यालयमा बनाइएको क्वारेन्टाइनमा कसरी टिकाइराख्ने भन्ने नै हो । नेपालमै अत्यधिक गर्मी हुने ठाउँमा टिनको छानोमा बस्नु पर्दाको अवस्था हामीले सहजै अनुमान गर्न सक्छौं । पूर्वाधार अभावका कारण बाध्यता छ । जुन कुरा गाउँपालिकावासीले बुझन जरुरी छ ।  अर्को कुरा यहाँ रहेको व्याप्त अन्धविश्वासले पनि केही समस्या आएको छ । यहाँका जनताले कोरोना भन्ने केही होइन भन्ने सोचेका कारण पनि कोरोना भाइरस रोकथाममा बाधा देखिएको छ । त्यस्तै  स्थानीयले जनप्रतिनिधिलाई नटेर्ने, कर्मचारीको मनोबल गिराउनेखालका क्रियाकलाप गर्ने, दुई चार जना बढी जान्ने भएर क्वारेन्टाइनमा बसेकालाई उच्काउने, हामीलाई मार्नको लागि आइसोलेसनमा लैजान थालेका छन् भन्ने जस्ता भ्रम फैलाउने जस्ता समस्या यहाँ देखा परेका छन् ।

प्रकोप व्यवस्थापनका लागि बजेट अभावको कुरा पनि आइरहेको छ नि ?

बजेट अभाव त छ नै । हुन त स्थानीय सरकारको यो साझा समस्या होला तर  नरैनापुर गाउँपालिकाको आन्तरिक स्रोत नभएकाले पनि यहाँ बढी समस्या छ । प्रदेश सरकारले दिएको बजेटको भरमा काम गर्नु पर्ने हुन्छ ।  प्रदेश सरकारबाट १० लाख रुपैयाँ मात्र आएको छ । अन्यत्र कहिँकतैबाट सहयोग प्राप्त भएको छैन । हामीले केन्द्र सरकारबाट माग गरिरहेका छौं । प्रकोप व्यवस्थापनका लागि अहिले हामीले विकास निर्माणको केही बजेट कटौती गरेर कोरोना व्यवस्थापनमा खर्च गरिरहेका छौं । अहिलेसम्म जसोतसो धानियो । तर अब धौधौ पर्ने अवस्था आइसकेको छ । बजेट अभावका कारण विकराल समस्या आउने देखिन्छ ।

गाउँपालिकाका कर्मचारी नेपालगन्जमा बस्ने भएकाले कोरोना व्यवस्थापनमा ध्यान दिन सकिरहेका छैनन् भन्ने गुनासो पनि आइरहेको छ नि ?

त्यस्तो छैन । म लकडाउन सुरु हुनुभन्दा केही दिन अगाडि मात्र यहाँ आएको हो । काम गर्न सजिलो होस् भन्ने उद्देश्यले नेपालगन्जमा सम्पर्क कार्यालय राखिएको रहेछ । जहाँबाट काम गर्न सजिलो  पनि भएको छ र त्यहाँबाट पनि कामहरु भइरहेका छन् । अहिलेको विशम परिस्थितिमा प्रत्यक्ष रुपमा काममा प्रयोग हुने कर्मचारीमात्रै नरैनापुरमै बसेर काम गरिरहनु भएको छ । अहिले पनि फिल्डको कामहरु भइरहेको छ । नेपालगन्जमा बसेर र नरैनापुर बसेर काममा बाधा भयो भन्ने सोचाइ एकदम गलत हो । चारैतिर सबै काम भइरहेको छ ।  नेपालगन्ज र नरैनापुर आधा घण्टाको बाटो हो । हामीसँग भएको जनशक्तिले जोखिम मोलेरै भए पनि फिल्डमा खटेर काम गरिरहेका छौं । नेपाल सरकारले निर्देशन गरेको एक चौथाइ कर्मचारीले काम गर्ने भन्ने छ त्यही अनुरुप काम भइरहेको छ ।

स्थानीयले के गरिदिए काम गर्न सहज हुन्थ्यो जस्तो लाग्छ ?

स्थानीयले कर्मचारीको मनोबल उचाल्ने खालको वातावरण सिर्जना गर्नु पर्ने हो । तर दुर्भाग्य यहाँको अवस्था त्यस्तो छैन । सानो सानो कु्रामा दोस लगाउने मात्र काम भइरहेको छ । मनोबल गिराउने कार्य भइरहेको छ । हामीले दिनरात खटेर काम गरेपनि स्थानीयबाट भइरहेको आरोपप्रत्यारोपले हाम्रो मनोबल गिराउने कार्य भइरहेको छ । त्यस्तै क्वारेन्टाइन व्यवस्थापनमा पनि स्थानीयको महत्वपूर्ण भूमिका रहने भएकाले उहाँहरुले क्वारेन्टाइनमा बसेकालाई भाग्न प्रोत्साहन नगर्ने, कर्मचारीहरुले जे गर्नु भएको छ हाम्रै लागि गर्नु भएको हो भनेर सकारात्मक सन्देश फैलाउने, कर्मचारीलाई सहयोग गर्ने लगायतका काम गरे मनोबल उच्च हुने थियो र यो विपत्तको बेलामा कोरोनासँग लड्न पनि सहज हुने थियो । साथै यहाँका जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी सबै कोरोनाविरुद्ध एकजुट भएर लाग्नु पर्छ ।

गाउँपालिकावासीलाई तपाईको सन्देश ?

विपत्तको बेलामा हामी सबै एकजुट भएर लाग्यौ भने कोरोनाबाट सहजै मुक्ति पाउन सक्छौं । आरोपप्रत्यारोप लगाउने, राजनीतिक माहोल बनाउने खालको कार्य भयो भने यहाँको अवस्था झन भयावह बन्ने भएकाले सबै आस्थालाई त्यागेर एकढिक्का हुन म अनुरोध गर्दछु । गाउँवासी, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवि सबैले हाम्रो पालिकामा कसरी कोरोनाविरुद्ध लड्न सकिन्छ भन्ने सोचेर आआफ्नो ठाउँबाट सहयोग गर्न जरुरी छ ।

Womui
Womui