राष्ट्रियस्तरको बहुउपयोगी ब्याडमिन्टन कवर्ड हल खजुरामा बन्दै

104
राष्ट्रियस्तरको बहुउपयोगी ब्याडमिन्टन कवर्ड हलको सिलन्यास गरिँदै । तस्बिर साभारः भक्तबहादुर गोदारको फेसबु्क पेजबाट ।

रमण ओली
बाँके –खजुरा), जेठ ९–
बाँकेको पश्चिम क्षेत्रमा पर्ने खजुरा गाउँपालिकामा बहुउपयोगी राष्ट्रियस्तरको ब्याडमिन्टन कवर्ड हल बन्दै छ । कवर्ड हल बनेपछि ब्यामिन्टनबाहेक कबड्डी, टिटीलगायतका प्रतियोगितासमेत त्यही सञ्चालन गरिने उद्देश्य रहेको छ । अत्याधुनिक सुविधासहितकोे ब्याडमिन्टन कवर्ड हलको शुक्रबार शिलन्यास गरिएको छ । खजुरा ब्याडमिन्टन संघका अध्यक्ष भक्तबहादुर गोदारले हलको सिलन्यास गरेका हुन् । उनका अनुसार युवालाई कुलतबाट बचाउन र खेलप्रति आकर्षित गराउन राष्ट्रियस्तरको ब्याडमिन्टन कवर्ड हल बनाउने उद्देश्यले सिलन्यास गरिएको हो । करिब दुई करोड रुपैयाँको लागतमा हल निर्माण हुन थालेको हो ।
हल निर्माणपश्चात् यस क्षेत्रका युवालाई खेलप्रति आकर्षित गर्दै राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता खजुरामै आयोजना गर्न सकिने अध्यक्ष गोदारले बताए । उनका अनुसार यस कार्यमा कवर्ड हल निर्माणका लागि खजुृरा क्षेत्रका युवा र स्थानीयको पनि महत्वपूर्ण भूमिका र सहयोग रहेको छ । अहिलेका युवापुस्ता खेलकुद भन्दा पनि कुलतमा फसेर समय बर्बाद गर्दै दिनप्रति दिन युवाको लगाव मोबाइलमा केन्द्रित भएकाले अब उप्रान्त खेलप्रति युवाको लगाव र आकर्षण बढ्ने विश्वास लिइएको छ ।
विगतका केही वर्ष अगाडिदेखि ब्याडमिन्टनमा लगाव भएका केही युवा ब्याडमिन्टन खेल्नका लागि भवन नभएकाले यताउता भौँतारिनु परेको स्मरण गर्दै गोदारले भने,‘खजुरामा ब्याडमिन्टन खेल्ने युवाको कमी छैन । हामीहरु विगत केही वर्षदेखि निरन्तर ब्याडमिन्टन खेलिरहेका छौं । तर ब्याडमिन्टन खेल्नको लागि इनडोर हुनु पर्ने हुँदा नेपालगन्ज जान धेरै टाढा पथ्र्यो भने खजुरामै कबर्ड हल बनिसकेपछि त्यो समस्या हल हुन्छ ।’
लकडाउनका बेला थालिएको कवर्ड हल निर्माण केही खर्चिलो हुने अध्यक्ष गोदारले जानकारी दिए । उनले भने,‘ निर्माणजन्य सामग्री अभावका कारण निर्माणजन्य सबै सामग्री महँगो भएको छ । अहिले निर्माण कार्यको सुरुवात नगरिएको भए कवर्ड हल निर्माणका लागि आएको बजेट फ्रिज जान्थ्यो । त्यसैले केही महँगो भए पनि कवर्ड हल निर्माण कार्यको सुरुवात गरेका हौं ।’
खजुरा गाउँपालिका वडा नम्बर ३ मा सिलन्यास गरिएको कवर्ड हलको लम्बाइ एक सय फिट र चौडाइ ७५ फिट रहने गोदारले जानकारी दिए । उनका अनुसार निर्मार्णाधीन हलभित्र ब्याडमिन्टन हल, शौचालय, चेन्जिङ रुम र कार्यालयलगायत हुनेछ । साथै यस हलमा ब्यामिन्टनबाहेक कबड्डी, टिटीलगायतका प्रतियोगितासमेत गर्न सकिने छ । कबर्ड हलका लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले पाँच कट्ठा जमिन प्रदान गरेको क्लबका कोषाध्यक्ष अर्विन गोदार क्षेत्रीले बताए । खजुरा गाउँपालिकाले भवन निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भवन निर्माणका लागि बजेटको व्यवस्थापनका लागि आजीवन सदस्यताको अवधारणा पनि बनाइएको छ । ‘ठूलो पुँजीको लागतमा यो भवन निर्माण भइरहेकाले आजीवन सदस्यता पनि बनाइरहेका छौं । अहिलेसम्म २५ जना आजीवन सदस्य भइसकेका छौं । २५ जनाबाट १५ हजार एक सय रुपैयाँका दरले रकम व्यवस्थापन गरिएको छ ।’ कवर्ड हल निर्माणले खजुरा क्षेत्रको परिचय बदल्ने र यसैका माध्यमबाट राष्ट्रियस्तरका खेलाडी जन्माउन सकिने विश्वास लिइएको छ ।
सिलन्यास कार्यक्रममा क्षेत्रीय खेलकुद विकास संघ बाँकेका अध्यक्ष भीम ओली, स्थानीय बुद्धिजीवि, खेलप्रेमी युवालगायतका उपस्थिति रहेको थियो ।

Womui
Womui