राप्तीसोनारी गाउँपालिकामा बढाइयो उच्च सर्तकता

109

‘भिडभाड नगर्नुस्, सामाजिक दुरी कायम गर्नुस्’ : अध्यक्ष थारु

पुर्णकला खत्री

बाँके(राप्तीसोनारी), जेठ ६-
छिमेकी गाउँपालिका नरैनापुरमा कोरोना भाइरसको संक्रमित संख्या बढ्दै गएपछि राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ । नरैनापुरमा सोमबार एकै दिन ५९ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थियो । यसअघि पनि ९ जना ब्यक्तिमा संक्रमण भएकोमा एक जनाको मृत्यु भएको थियो ।

नरैनापुरसँग जोडिएका वडा नम्बर ४,५ र ७ का नाकामा उच्च सर्तकता अपनाइएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । ‘नरैनापुरमा संक्रमितको संख्या बढिरहेको हुँदा राप्तीसोनारी गाउँपालिका पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको छ,’ उनले भने ‘कोरोना भाइरसको संक्रमण हुन नदिन राप्तीसोनारी गाउँपालिकाबासीले आफ्नो टोल तथा वडामा सुरक्षा सर्तकता अपनाउन अनुरोध गरेका छौं ।’

गाउँपालिकाबासीलाई स्थानीय एफ.एम रेडियोमार्फत सर्तकता अपनाउन अपिल गरिएको अध्यक्ष थारुले बताएका छन् । यसका साथै ९ वटै वडाका जनप्रतिनिधीमार्फत गाउँपालिकाबासीलाई सर्तकना अपनाउन आग्रह गरिएको उनले सुनाए । गाउँपालिका कार्यालय, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था लगायत अत्यावश्यक काममा जाँदा एक वा दुई भन्दाबढी ब्यक्ती जम्मा नहुन पनि उनले आग्रह गरेका छन् । अध्यक्ष थारुले अगाडी भने, ‘कुनैपनि संघ, संस्था वा समुहले छलफल तथा बैठक गर्दा सामाजिक दुरीलाई विशेष ख्याल राख्नु हुन हार्दिक अनुरोध गर्दछौं ।’

Womui
Womui