स्वाथ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ताः अधिकृत बस्नेत

70
राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत ।

खड्क खत्री
बाँके (राप्तीसोनारी), जेठ ५–
राप्तीसोनारी गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ संक्रमणका बीच काममा खटिने अग्रभागका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । काममा खटिएका स्वास्थ्यकर्मीका सहयोगी कार्यकर्तालाई पनि प्रोत्साहन भत्ता दिइने भएको हो ।

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट खर्च गर्नेगरी प्रोत्साहन रकम दिने निर्णय भएको जानकारी दिए । गाउँपालिकाले विनियोजन गरेको कूल २ करोड रुपैयाँको विपत्त व्यवस्थापन कोषबाट कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष खडा गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने,‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट रकम खर्च गरेर प्रोत्साहन रकम दिने गाउँपालिकाले निर्णय गरेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले राप्तीसोनारी गाउँपालिकाले अतिविपन्न व्यक्तिहरुको पहिचान गरी विभिन्न चरणमा खाद्यान्न वितरण गरेको बताउँदै अब स्वरोजगारको व्यवस्था गर्ने पालिकाले तयारी गरेको र कसैलाई विचलित नहुन आग्रह गरेका छन् । राप्तीसोनारीमा एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको जानकारी दिँदै गाउँपालिकाले दैनिक ज्याला मजदुरी, अतिविपन्न असाहय परिवारलाई मात्र राहत दिएको उनले बताए । उनले कोरोनाविरुद्धको चुनौतीपूर्ण समयलाई मध्यनजर गर्दै गैरसरकारी संस्था, निजी क्षेत्र र आम नागरिक सबै समस्या सावधानतर्फ एकबद्ध भएर लाग्न सबैलाई अपिल गरे । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले गाउँपालिकाबासीलाई लकडाउनको पालना गर्न र भारतबाट लुकिछिपी नेपाल प्रवेश गरी रहेकाको पहिचान गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नतर्फ सबै अग्रसर हुनु पर्ने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले क्वारेन्टाइनका लागि सरकारले बनाएको मापदण्ड अनुसार सबै व्यवस्था गरिएको बताउँदै कुनै कमिकमजोरी भए गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउन आग्रहसमेत गरे ।

Womui
Womui