कोरोना आशंकामा जनप्रतिनिधि बसे क्वारेन्टिन, हप्तादिन पुग्दा पनि भएन स्वाब संकलन !

166
वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माबिमा रहेको क्वारेन्टाइनमा बसेका वडाध्यक्ष रामलखन थारु ।

रमण ओली
नेपालगन्ज, जेठ ५–

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष राम लखन थारु क्वारेन्टिनमा बसेका छन् । आफूलाई पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने भन्दै वडाध्यक्ष थारु सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्य असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको थियो । उक्त घटनापछि आफूलाई पनि कोरोनाले संक्रमण गरेको हुनसक्ने भन्दै घरपरिवारमा संक्रमण नफैलियोस् भनेर आइतबार साँझदेखि क्वारेन्टाइनमा बसेको वडाध्यक्ष थारुले बताए । उनका अनुसार गत वैशाख ३० गते मृतक युवासँगै आएका अन्य ९ जनाको उद्धार गरेर वडाध्यक्ष रामलखन थारुले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ मा रहेको नेपाल राष्ट्रिय माबिको क्वारेन्टाइनमा राखेका थिए । मृतक युवकको सम्पर्कमा आफू पनि आएको बताउँदै उनले स्वयम् छु्ट्टै कोठामा सेल्फ क्वारेन्टाइनमा बसेको बताए ।

वडाध्यक्ष थारुका अनुसार नेपाल राष्ट्रिय माबिको क्वारेन्टिनमा ४४ जना बस्दै आएका छन् । हप्ता दिन बित्न थालिसकेपनि उनीहरुको स्वाब संकलन हुन नकसेको वडाध्यक्ष थारुले गुनासो गरे । ‘ वैशाख ३० गतेदेखि क्वारेन्टाइनमा बस्दै आएकाको स्वाबसमेत संकलन गरिएको छैन । यहाँ बस्दै आएकाहरु ती मृतक युवकसँगै भारतबाट आएका थिए ।’

क्वारेन्टिनमा बस्दै आएकोको लागि खाना, बस्ने र सुत्नेलगायतको राम्रो प्रबन्ध गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । अन्य ठाउँमा क्वारेन्टिनबाटै भाग्नेको संख्यामा वृद्धि भएपनि राप्तीसोनारी गाउँपालिकामा क्वारेन्टिनमा बसेकाहरु खुसीसाथ बस्ने वातावरण गाउँपालिकाले सिर्जना गरेको बताउँछन् प्रमुख बस्नेत । प्रमुख बस्नेतका अनुसार क्वारेन्टिनमा बस्नेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । क्वारेन्टिनमा बस्नेको संख्या सोमबार बढिरहेको उनले जानकारी दिए ।

क्वारेन्टिनमा बस्नेलाई आकर्षित गर्दै गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि हरसम्भव प्रयास गरेता पनि सम्बन्धित निकायबाट स्वाब संकलनलगायतका स्वास्थ्य जाँच प्रक्रिया समयमै नहुँदा क्वारेन्टिनमा बस्ने हत्तोत्साहित भएको बताउँछन् । क्वारेन्टिनमा बस्नेले स्वाब परीक्षण गर्न अनुरोध गरे पनि सम्बन्धित निकायले परीक्षण किट नभएको जानकारी दिँदा क्वारेन्टाइनमा बस्नेलाई के भन्ने अन्योलता बढ्दै गएको दुखेसो उनले पोखे ।

Womui
Womui