भारतबाट आएका व्यक्तिले खाली क्वारेन्टाइन भरिँदै, व्यवस्थापनमा सकस

121

रमण ओली
नेपालगन्ज, जेठ २–
राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकाले निर्माण गरेका प्रायः क्वारेन्टाइन खाली थिए । पछिल्लो समयमा भने दिनप्रतिदिन ती गाउँपालिकाले निर्माण गरेका सबै क्वारेन्टाइन भरिभराउ हुँदै छन् । सीमामा अलपत्र परेकाको उद्धार गरेर नेपाल भित्र्याएसँगै ती क्वारेन्टाइन भरिँदै गएका हुन् ।
भारतसँग सीमा जोडिएका र रोजगारीको लागि अत्यधिक व्यक्ति भारतका विभिन्न सहर जाने गाउँमा बाँकेको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका पर्छन् । पछिल्लो समयमा नेपाल–भारत सीमामा अलपत्र परेकालाई उद्धार गरेर नेपाल ल्याएसँगै ती गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनले धान्न नसक्ने भएकाले थप क्वारेन्टाइन निर्माण गर्नु पर्ने गाउँपालिका अध्यक्षहरु बताउँछन् ।

भारतबाट फर्केकालाई व्यवस्थापन गर्दै नरैनापुर अध्यक्ष मो इस्तियाक अहमद शाह ।

नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या ५३० पुगेको छ । जसमध्ये शुक्रबार ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले जानकारी दिए । सीमानाकामा आएर अलपत्र पर्नेको संख्या नरोकिएकाले उनीहरुको उचित व्यवस्थापनका लागि संघ र प्रदेश सरकारले समन्वय र सहयोग गर्नु पर्ने अध्यक्ष शाह बताउँछन् ।

त्यस्तै बाँके डुडुवा गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनमा १४७ जनालाई राखिएको छ । लकडाउनका कारण बेरोजगार बनेका भारतका विभिन्न स्थानबाट धेरै व्यक्ति गाउँ फर्किएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । वडा नम्बर ३ स्थित बनकट्टी माबिमा १०० वेडको क्वारेन्टाइन स्थापना गरिएको छ । भारतीय सीमासँग जोडिएको डुडुवास्थित खडैचा नाकाबाट अहिलेसम्म १०८ जना बढी भित्रिइसकेका छन् ।

डुडुवा गाउँपालिकाको बनकट्टी माविमा रहेको क्वारेन्टाइन ।

नेपाल–भारत सीमानाकामा अलपत्र परेका नेपाली फर्कने क्रम बढेकाले क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा वृद्धि भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । सीमानाकासँग जोडिएको गाउँपालिका भएकाले भारतबाट दैनिक रुपमा फर्कने नेपालीहरु बढेपछि गाउँपालिकामा क्वारेन्टाइनको संख्यासमेत बढाउन थालिएको अध्यक्ष चौधरीले बताए ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माबिमा रहेको क्वारेन्टाइन ।

त्यस्तै राप्ती सोनारी गाउँपालिकामा खाली अवस्थामा रहेका क्वारेन्टाइन पनि भरिँदै गएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।  उनका अनुसार अहिले गाउँपालिका भर रहेका पुराना ५ वटा र नयाँ २ वटा गरी ७ वटा क्वारेन्टाइन स्थापना गरिएको छ । जहाँ भारतस्थित मुम्बई, पञ्जाब र हरियाणालगायतका सहरबाट गाउँपसेका ३९ जनालाई गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनमा राखिएको अध्यक्ष थारुले बताए । बिहीबार नेपाल–भारत सीमा रुपैडिहा नाकाबाट आएका थप ९ जनालाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भएको अध्यक्ष थारुले बताए।

वडा नम्बर ७ मा ३४ जना र वडा नम्बर ५ को क्वारेन्टाइनमा ५ जना रहेको बताउँदै अध्यक्ष थारुले उनीहरुलाई खाना, बस्ने र स्वास्थ्य जाँच गर्ने सुविधासहितको क्वारेन्टाइनमा निगरानीमा राखिएको बताए । अध्यक्ष थारुका अनुसार यहि अनुपातमा क्वारेन्टाइनमा बस्नेको संख्या वृद्धि हुने क्रम नरोकिए क्वारेन्टाइन व्यवस्थापनमा अप्ठ्यारो पर्ने भएकाले संघ र प्रदेश सरकार एवम् मनकारीदातालाई सहयोग गर्न आह्वान गरे ।

यसैबीच नेपाल–भारतमा जारी लकडाउनका कारण सीमामा रहेका व्यक्ति लुकिछिपी सीमा वारिपारि गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै कोरोना भाइरस फैलिने जोखिमलाई कम गर्न बाँके प्रशासन र भारतको बहराइच जिल्लाका डिएमबीच भएको समन्वयपश्चात् मूलबाटोबाटै सीमामा अलपत्र परेकालाई वारिपारि गराइएको हो ।

नेपाल भित्रिएका  ३२ जिल्लाका ८११ जनामध्ये २१४ जना बाँके जिल्लाका रहेका छन् । बिहीबार जमुनाहा नाकाबाट ६८८ जना भित्रिएका हुन् । भने नरैनापुरको भगवानपुर नाकाबाट ८९ जना र डुडुवाको खडैचा नाकाबाट ४२ जना भित्रिएका छन् । जमुनाहा नाकाबाट नेपाल भित्रिनेमा नरैनापुर गाउँपालिकाका २५ जना, डुडुवा गाउँपालिकाका ३१ जना र राप्तीसोनारी गाउँपालिकाका ९ जना रहेका छन् । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका ५१, कोहलपुर नगरपालिकाका २२, बैजनाथ गाउँपालिकाका ३१, खजुरा गाउँपालिकाका २०, जानकी गाउँपालिकाका १७ जना भित्रिएका छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।

Womui
Womui