सीमानाकामा अलपत्र परेकाको उद्धार गर्दै नरैनापुर गाउँपालिका

457
उद्धारकार्यमा खटिँदै गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाह ।

बाँके (नरैनापुर), जेठ १–

भारतका विभिन्न सहरबाट आएर सीमानाकामा अलपत्र परेकाको उद्धार गरेर नरैनापुर गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । यसरी सीमामा अलपत्र परेकाहरु गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या ४४१ जना पुगेको गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले बताए । अध्यक्ष शाहका अनुसार क्वारेन्टाइनमा पछिल्लो तीन दिनमामात्रै ४०७ जना सीमामा अलपत्र परेका नागरिक छन् ।

भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका स्थानीय सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको छ । भारतबाट आउनेको संख्या दिनप्रतिन बढ्दै गएपछि क्वारेन्टाइनको संख्या थप गरेर उनीहरुको व्यवस्थापन गरिरहेको अध्यक्ष इस्तियाक अहमद शाहले बताउँछन् । अध्यक्ष शाहका अनुसार सीमानाकामा आएर अलपत्र पर्नेको संख्या नरोकिएकाले उनीहरुको उचित व्यवस्थापनका लागि संघ र प्रदेश सरकारले समन्वय र सहयोग गर्नु पर्ने बताएका छन् ।

गाउँपालिकाले बनाएको विभिन्न १० वटा क्वारेन्टाइनमा उनीहरुलाई राखिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । नेरा प्रावि महतिनियामा २४, नेरा प्रावि गेगली २५, आदर्श मावि लक्ष्मणपुर ८१, नेरा प्रावि खोदवाँ ३४, नेरा प्रावि परसरामपुर्वा ५७, नेरा कृष्णा प्रावि हुलासपुर्वा २८, जयकिसान मावि भोजपुर ६१, दिपेन्द्र प्रावि भगवानपुर ३८, मदरसा अरबिया गुलसने वारिस हुरमतुल उलुम नरैनापुर ४३ र नेरा प्रावि शंकरनगर कोटियामा ५० जनालाई राखिएको छ । क्वारेन्टाइनमा आएर बसेकाको पिसिआर परीक्षणका लागि स्वाब पनि संकलन भइरहेको छ अध्यक्ष शाहले जानकारी दिए ।

Womui
Womui