कोरोना संक्रमणको पहलबारे डुडुवामा सर्वदलीय बैठक

118
सर्वदलीय बैठकका सहभागी ।

बाँके (डुडुवा), जेठ १–
कोरोना भाइरस (कोभिड १९) को संक्रमणपछि उत्पन्न विभिन्न समस्या समाधानका लागि बाँके डुडुवा गाउँपालिकामा सर्वदलीय बैठक बसेको छ । बैठकमा अहिलेको विष्म परिस्थितिमा उत्पन्न समस्यालाई समाधानका लागि सबैजना एकजुट भएर लाग्ने र महामारी रोगको संक्रमणबाट बच्न उच्च सावधानी अपनाउनु पर्नेमा जोड दिएको छ ।
बैठकमा गाउँपालिकाको हालसम्मको कार्यविवरण, कोरोना संक्रमणको पहल, बजेट खर्चसहितको प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले प्रस्तुत गरेका थिए । बैठकमा नेकपाका शकिल अहमद खा, राप्रपाका दिपेन्द्र बहादुर सिंह, नेपाली कांग्रेसका छोटेलाल यादव, वडाध्यक्षद्वय मोहनराम मिश्र, भण्डारीलाल यादवलगायतले कोरोनाको सन्दर्भलाई जोडेर विभिन्न सुझावसमेत राखेका थिए ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विश्वव्यापी रूपमा नै फैलिएको कोरोना महामारीले स्थानीय नागरिकको दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको र यो अवस्थामा गाउँपालिकाले सक्दो पहल गरिरहेको बताए । उनले यो अवस्थामा कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी निस्वार्थ भावनाले संकटविरुद्ध जुटन सबैलाई आग्रह गर्दै निर्वाचनका बेला मात्र राजनीतिक कुरा भए पनि पालिकामा आइसकेपछि सबै नागरिकको हितका लागि आफू लागेको बताए । अध्यक्ष चौधरीले स्थानीयस्तरमा अहिले कालोबजारी, खाद्यान्नको उपलब्धता, किसानलाई गहुँबाली बिक्रीका लागि बजारको अभाव, किसानले उत्पादन गर्ने तरकारी र दूध बिक्री जस्ता समस्यालाई पहल गर्ने प्रयास गरिए पनि समाधान हुन नसक्नु चिन्ताको विषय भएको बताए ।
बैठकमा आएका विभिन्न सुझाव संकलन गरिएको थियो । पालिका अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष पटेश्वरी कुर्मी, गजेन्द्र केराती, भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी र मोहनराम मिश्र, कार्यपालिका सदस्य, दलका प्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
यसैबीच नेपाल–भारत सीमा नाकामार्फत् भारतमा अलपत्र परेकाको फर्कने संख्या बढेपछि पालिकाले धमाधम क्वारेन्टाइन निर्माण कार्य सुरु गरेको छ ।

Womui
Womui