सीमामा अलपत्र ३ सय ३३ को उद्धार

221
सीमानाकामा अलपत्र परेका यात्रुको उद्धार गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाह ।

बाँके (नरैनापुर), जेठ १ 

कोरोना भाइरसका कारण विश्वजगत प्रायः ठप्प छ । यस्तो अवस्थामा छिमेकी मु्लुक भारतमा रोजगारीका लागि गएका नेपाली नागरिकको स्वदेश फर्कने क्रम बढ्दो छ । भारतमा जारी लकडाउनका कारण बेरोजगार र बेखर्ची हुन पुगेका नागरिक हजारौ किलोमिटरको यात्रा, भोक र प्यासले रन्थनिँदै हिँडेरै पार गर्न बाध्य छन् । अनेकौ दुःख कष्ट सहेर उनीहरु नेपाल–भारत सीमानाकामा आए पनि सहजै स्वदेश प्रवेश गर्न भने पाउँदैन्/पाएका छैनन् । तर, बाँकेको नरैनापुर गाउँपालिकाले भने सीमामा अलपत्र परेका ३ सय ३३ नागरिकको बुधबार उद्धार गरेर गाउँपालिकाको क्वारेन्टाइनमा राखेको छ ।
भारतका विभिन्न सहरबाट फर्केका उनीहरुलाई गाउँपालिकाले बनाएको विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको हो । ठूलो संख्यामा एकैसाथ स्थानीयहरु भारतबाट फर्केपछि क्वारेन्टाइन थपेर उनीहरुको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । “भारतबाट आउनेको क्रम बढ्दो छ । सीमामा अलपत्र परेका नागरिकलाई क्वारेन्टाइनमा निगरानीमा राख्ने बन्दोबस्त मिलाएका छौं । क्वीक व्यवस्थापन गर्न निकै गाह्रो भए पनि हरसम्भव अलपत्र नागरिकको उद्धार गरिरहेका छौं,’ अध्यक्ष शाहले भने ।

सीमामा अलपत्र ३ सय ३३ जना मध्ये ५८ जनालाई वडा नम्बर ६ को भोजपुरस्थित जयकिसान मावि, ६६ जना वडा नम्बर ५ को भगवानपुरस्थित दिपेन्द्र प्रावि, वडा नम्बर ४ को नेरा प्रावि पर्शुरामपुरमा ५७ जना, लक्ष्मणपुर २ आदर्श माविमा ७९, नेरा प्रावि शंकरनगर कोटियामा ४० र नरैनापुर ४ को एक मदरसामा ३३ जनालाई राखिएको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिए । त्यस्तै यसअघि आएका ३४ जनालाई नेरा प्रावि खोदवाँमा राखिएको छ भने उनीहरुको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब पनि लिइएको स्वास्थ्य उपप्रमुख शाहले बताए । उनीहरु बैशाख २० गते भारतबाट आएका थिए ।

Womui
Womui