थरुहटको धम्कीपछि कोहलपुरका पत्रिका र रेडियो बन्द

101
छिनछिन खबर
कोहलपुर, भदौ १७
थरुहट कार्यकर्ताले लगातार दिइरहेको धम्की र कुटपिटपछि यहाँका पाँच स्थानीय पत्रिका र दुई एफएम रेडियो प्रकाशन र प्रसारण बन्द भएका छन् । थरुहट संयुक्त संघर्ष समितिले बुधबार राति कोहलपुरका क्रियाशील पत्रकार विनोद पौडेलमाथि हातपात गर्दै स्थानीय सञ्चारगृहमा टेलिफोन गरी जलाउने धम्की दिएपछि उक्त पत्रिका र एफएम बन्द भएका हुन् । बन्द भएका पत्रिका र रेडियोमा पिपलबोट दैनिक, मार्गरेखा, कोहलपुर टाइम्स, न्युज नमस्ते, मिसन टुडे दैनिक र कोहलपुर एफएम र रेडियो प्रतिबोध  रहेका छन् । असुरक्षाका कारण सञ्चारगृहमा काम गर्ने वातावरण नभएपछि अनिश्चितकालका लागि पत्रिका र रेडियो बन्द गर्नु परेको पत्रकार विनोद पौडेलले जानकारी दिए ।

समाचारको विषयलाई लिएर थरहट संयुक्त संघर्ष समितिका कार्यकर्ताले पत्रकार बिनोद पौडेललाई बुधबार अपरान्ह कार्यालयमै पुगेर कुटपिट गरेका थिए । थरुहटमा आवद्ध एकीकृत माओबादीका नेतासमेत रहेका कृष्ण चौधरीको नेतृत्वमा पुगेका झन्डै ५०  जना आन्दोलनकारीको समूहले पौडेललाई कुटपिट गरेका थिए भने रेडियो प्रतिबोध एफएम जलाउने तथा पत्रकार पुजन विश्वकर्मालाई कुटपिट धम्की दिएपछि  सञ्चार गृह बन्द भएका हुन्।

समाचार संकलन गर्ने बातावरण सहज नहुन्जेल र सम्बन्धित पक्षले प्रेसमाथिको आक्रमण रोक्ने लिखित प्रतिबद्वता र दोषीलाई कारबाही नगरेसम्म कोहलपुरबाट प्रकाशन र प्रसारण हुने सम्पूर्ण सञ्चार माध्यमहरु बन्द हुने जनाइएको छ। जिल्लाका अधिकारकर्मीले पत्रकारमाथि भएको आक्रमण र सञ्चारगृहमाथिको धम्कीप्रति ध्यानकर्षण भएको जनाएका छन्।

Womui
Womui