किरिया बसेका परिवारलाई धनीको सहयोग

110
बाबुको काज किरियामा बसेका परिवारका साथमा धनीकुमारी खत्री ।

तारा ओली
बाँके (राप्तीसोनारी), वैशाख ३१–

गाउँपालिकाको सीमानाकामा अलपत्र परेका व्यक्ति हुन् वा समस्यामा परेका गाउँपालिकावासीको सुखदुखमा सहभागी बन्ने  गरेकीछिन् राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री । गाउँपालिकावासीलाई कुनै समस्या परे गाउँपालिकाबाट होस् या अन्यत्रबाट उनी सहयोग गर्न पछि नपर्ने जनप्रतिनिधिमा गनिन्छिन् ।

यसैबीच उपाध्यक्ष खत्रीले राप्तीसोनारी वडा नम्बर ५ गोरधोइमा काज किरियामा बसेका परिवारलाई व्यक्तिगत रुपमा सहयोग गरेकी छिन् । किरिया बसेका स्वर्गीय लीलाबहादुर डाँगीको परिवारलाई उपाध्यक्ष धनीले व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराएकी हुन् ।

चैत ११ गतेदेखि देसमा जारी लकडाउन, त्यसमाथि बाबुको काजकरिया बसेका परिवारलाई घरधन्दा चलाउन अफ्ठ्यारो परेको भन्दै उपाध्यक्ष खत्रीले उक्त परिवारलाई व्यक्तिगत खर्चमा ५० केजी चामल, ५ केजी दाल, २ लिटर खानेतेल र २ केजी नुन सहयोग गरेकीछिन् ।

बाबुको मृत्यु भएपछि लीलाबहादुर डाँगीका दुई छोरा, बुहारी र आमा क्रियामा बसेका छन् । घरका सबै क्रियामा बसेपछि साँझ बिहान पसल खुले पनि लिन जान पाएका थिएनन् । त्यसमाथि देसमा जारी लामो लकडाउनका कारण कामधन्दा नहुँदा उक्त परिवार बेखर्ची हुन पुगेको थियो । गाउँपालिका उपाध्यक्षले घरमै पुगेर गरेको राहतलाई कहिले बिर्सन नसक्ने डाँगी परिवारले बताएको छ । धनीकुमारी खत्री जस्ता जनप्रतिनिधि पाएकोमा भाग्यशाली सम्झेको बताउँदै स्वर्गीय डाँगीको जेठा छोरा घनसिंह डाँगीले भने,‘उहाँजस्तै जनप्रतिनिधि सबै स्थानीय सरकार र पालिकाले पाए कोही समस्यामा बस्नु पर्दैन ।’

उपाध्यक्ष खत्रीले गाउँपालिकावासीलाई कुनै समस्या भए आफ्नै आमा, दिदीबहिनी सम्झेर निर्धक्क सहयोग माग्न आग्रह गरेकी छिन् । उनले आफ्ने बलबुताले भ्याएसम्म हरसम्भव गाउँपालिकावासीको सहयोग गर्ने बताएकीछिन् ।

Womui
Womui