धनीले गरिन जंगलमा अलपत्र परेका ३ यात्रुको उद्धार

78
अलपत्र यात्रुको साथमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री ।

तारा ओली
बाँके (राप्तीसोनारी), वैशाख ३१–

जंगलमा अलपत्र परेका तीन यात्रुको धनीकुमारी खत्रीले उद्धार गरेकीछिन् । ५६ वर्षीय कालीबहादुर रावल, ३५ वर्षीय मदन रावल र ५६ वर्षीय केशर सिंह सुनारलाई खैरीखोलाको जंगलमा अलपत्र परिरहेको अवस्थामा खत्रीले उद्धार गरेकी हुन् ।

५ दिनदेखि पर्वतबाट हिँड्दै खैरीखोला जंगलमा आइपुगेका उनीहरुलाई गाउँपालिकाको गाडीमा उद्धार गरी वैजनाथ गाउँपालिका चिसापानी स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबै बैजनाथ गाउँपालिका वडा नम्बर १ का स्थायी बासिन्दा हुन् । भोकभोकै दिनरात हिँडेर यहाँसम्म आउन सफल भएको कालीबहादुर रावलले दुखेसो पोखे । ‘घर खर्च चलाउन भनेर ज्याला मजदुरी गर्न गएका थियौं, कालीबहादुरले भने,‘लकडाउनले गर्दा बेखर्ची भइयो । काम पनि बन्द भयो भने यता घरपरिवारले के खाएर बसेका होलान भन्ने चिन्ता लागेर ५ दिनको पैदल यात्रा गरेरै भए पनि यहाँसम्म आइपुगेका हौं ।’

उद्धारकर्ता धनीकुमारी खत्री अरु कोही नभएर राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष हुन् । यतिबेला उनी यस्तै अलपत्र परेका नागरिकको सेवामा दिनरात खटिन्छिन् । कोही बटुवा आफ्नो गाउँपालिकाको सीमानाकामा अलपत्र अवस्थामा परेका त छैनन् भन्ने चिन्ताले सधैँ पिरोलिरहने बताउने उनी नाम मात्रले नभई मनले पनि उत्तिकै धनी भएको बताउँछन् स्थानीय ।

उनी नाम र मनले मात्र नभइ कामले पनि धनी भएको उनले लकडाउनका बेला जनताप्रति देखाएको सहानुभूति र जनताको सेवामा समर्पित लगनशीलताले पुष्टि गर्दछ । त्यसैले होला आजभोलि एकाबिहानै गाउँपालिकाको कार्यालय वा स्वास्थ्य चैकीमा भेटिन्छिन् । यतिमात्र होइन अबेर रातिसम्म पनि कहिले जनताको घरदैलोमा भेटिन्छिन् भने कहिले उही गाउँपालिकाको कार्यालय, स्वास्थ्य चौकी एवम् सीमानाकामा अलपत्र यात्रुको उद्धारमा । दिनप्रतिदिन महामारीको रुप लिइरहेको कोरोना भाइरसको प्रवाह नगरिकनै उनको दिन आफ्नो गाउँपालिकावासीको सेवा गर्नमै बित्छ भने कोही गाउँपालिकावासी समस्यामा परेका छन् कि भन्ने फिक्रीमै रात बितेको पत्तो हुँदैन् ।
कोरोना भाइरस कोभिड १९ को महामारीमा लकडाउनले गाउँ, सहर सुनसान छ, गाउँपालिकावासी घर बाहिर निस्कन पाएका छैनन् । त्यस्तो परिस्थितिमा उनीहरुलाई दैनिक उपभोग्य सामग्री आवश्यक पर्‌यो कि वा कुनै समस्या आइपर्‌यो कि भन्ने चिन्ताले सधैँ मन पिरोलिरहने उपाध्यक्ष खत्री बताउँछिन् । त्यसैले पनि होला आजभोलि उनको दिनरात गाउँपालिकावासीको फिक्री गर्नमै बित्छ ।

Womui
Womui