घरदैलोमै धानको बीउ पाएपछि कृषक उत्साहित

89
धानको बीउ वितरण गर्दै वडा नम्बर २ का वडाध्यक्ष मदनकुमार ओली ।

बाँके (राप्तीसोनारी), वैशाख २९–
राप्तीसोनारी गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा धमाधम धानको बीउ वितरण गरिरहेको छ । देसमा जारी लामो लकडाउनले सम्पूर्ण नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला गाउँपालिकाले अनुदानमा वितरण गरेको धानको बीउले राहतको अनुभूति भएको कृषकले बताएका छन् ।

वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारुलगायत ।

चैत ११ गतेदेखिको लकडाउनले यहाँका किसानलाई धेरै मर्का परेको थियो । अब धानको बीउ राख्ने बेला के गर्ने कसो गर्ने रनभूल्लमा परेका कृषकको घरदैलोमै पुगेर धानको बीउ वितरण गरेको वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारुले बताए । ८० क्वीन्टल धानको बीउ वडास्थित कृषकलाई वितरण गरिएको बताउँदै उनले भने,‘मौसमी खेतीपाती गर्ने किसानलाई धानको बीउ कहाँबाट ल्याउने भन्ने चिन्ताले धेरै पिरोलेको थियो । वडाकार्यालयले दिएको बीउले उनीहरु खुसी भएका छन् । ’

वडा नम्बर ५ का वडाध्यक्ष झगरु थारु कृषकको तथ्यांक हेर्दै ।

वडा नम्बर २ मा १ सय ५० क्वीन्टल धानको बीउ वितरण गरेको वडाध्यक्ष मदनकुमार ओलीले बताए । लकडाउनका बेला पनि वडाकार्यालयले धानको बीउ वितरण गरेकोमा यहाँका किसान उत्साहित भएको बताउँदै उनले भने,‘समयमै कृषकलाई दिइएको धानको बीउका कारण गाउँलेलाई वर्षदिनमा के खाने के लाउने भन्ने चिन्ता हटेको छ ।’

वडा नम्बर ५ को कार्यालयले पनि ९५ क्वीन्टल बीउ बितरण गरेको वडाअध्यक्ष झगरु थारुले बताए । वडामा रहेका अधिकांश गाउँले कृषि पेसामा रहेको बताउँदै उनले भने,‘ वडावासीको सीप भने पनि सहारा भनेपनि खेतीपाती नै हो । देसमा जारी लकडाउनका कारण धानको बीउ कहाँबाट ल्याउने भन्ने चिन्ताले ग्रसित वडावासीले धानको बीउ पाउँदा के खोज्छस् कानो आँखो भने झै भएको छ ।’

बीउ बितरणमा व्यस्त वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारु ।

त्यस्तै वडा नम्बर ७ मा २ सय क्वीन्टल धानको बीउ वितरण गरेको वडाध्यक्ष रामलखन थारुले जानकारी दिए । विषम परिस्थितमा कृषकलाई धानको बीउ वितरण गर्न पाउँदा खुसी लागेको जनाउँदै उनले भने,‘ लकडाउनले गर्दा कृषक घर बाहिर निस्कन नपाइरहेको अवस्थामा उनीहरुलाई वितरण गरिएको धानको बीउले पक्कै पनि यस वडामा चामल आयात गर्नु पर्ने समस्या केही हदसम्म निर्मूल हुनेछ।’

वडाकार्यालयहरुले कूल ५ सय २५ क्वीन्टल धानको बीउ वितरण गरेका छन् ।

Womui
Womui