गाउँपालिकामा भोकमरी हुन नदिन राप्तीसोनारीले गर्‌यो खाद्यान्न भण्डारण

217
खाद्य भण्डारण गरिँदै ।

खड्क खत्री
बाँके (राप्तीसोनारी), वैशाख २९–
कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिँदै गइरहेको छ । कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो क्रममा छ । सरकारले कोरोना रोगको रोकथामका लागि देशभर जारी गरेको लकडाउनको समयमा गाउँपालिकाभित्रका बासिन्दाहरुलाई भोकमरी हुन नदिने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाले खाद्यान्न भण्डारण गरेको छ । गाउँपालिकाले कार्यालयको हलमा खाद्यान्न स्टोर बनाएर २०० क्वीन्टल चामल, २० क्वीन्टल दाल ,५० क्वीन्टल नुनसहित २९० पेटी तेल जम्मा गरेर भन्डारण गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

गाउँपालिकाको विपत व्यवस्थापन कोषमा २ करोड बजेट विनियोजनबाट लकडाउनको बेला मजदुरी गरेर खाने वर्ग र अति विपन्न घरपरिवारहरुलाई खाद्यान्न खरिद गरी राहत वितरण गरेको अधिकृत बस्नेतले बताए । गाउँपालिकाले लकडाउनको बेला ५४ लाख ४४ हजार ७ सय ८६ रुपैयाँको राहत खरिद गरेको उनले जानकारी दिए।

गाउँपालिकाले पहिलो चरणमा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग, विपन्न र अति गरिब घरपरिवारहरुलाई खाद्यान्न वितरण गरिसकेको भए पनि गाउँपालिकाले लकडाउन थपिँदै जाँदा पर्न सक्ने भोकमरीलाई मध्यनजर गर्दै खाद्यान्न भण्डारण गरेको हो । ९ वटा वडा रहेको गाउँपालिकाभित्र ६ हजार घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । अझै लकडाउन लम्बिन सक्ने हुँदा गाउँपालिकाले खाद्यान्न खरिद गरी भण्डारण गरेको अध्क्षय थारुले बताए । गाउँपालिकाले पहिलो चरणमा ५ हजार २ सय घरपरिवारलाई खाद्यान्न वितरण गरिसकेको र पुनः खाद्यान्न सकिएका घरपरिवारमा दोस्रो चरणमा खाद्यान्न दिने योजना रहेको जानकारी दिँदै अध्यक्ष थारुले भने, ‘लकडानको समयमा पालिकाभित्रका कुनै पनि मानिस भोकै बस्न नपरोस् भनेर खाद्य भण्डारण गरिएको हो ।’

गाउँपालिकाभित्रका बस्तीहरुमा पनि बिहान र बेलुका दुई दुई घण्टा खाद्यान्न पसलहरु खुलाउने ब्यवस्था गरिएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि लकडाउन नै विकल्प भएको हुँदा केहि महिना लकडाउन लम्ब्याए पनि गाउँपालिकाबासीमा भोकमरी हुन नदिने गाउँपालिका अध्यक्ष थारुले बताए ।

Womui
Womui