लकडाउन खुकुलो गर्दै सरकार, सर्तको अधिनमा रही केही क्षेत्र खुल्ने

152

काठमाडौं, वैशाख २४–

चैत ११ गतेदेखि पटकपटक थप गर्दै आगामी जेठ ५ गतेसम्म कायम लकडाउनलाई खुकुलो गर्दै सरकारले सर्तको अधिनमा रहने गरी केही क्षेत्र खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्ले निर्णयले सरकारद्वारा जारी सर्तको अधिनमा रहने गरी औषधिजन्य वस्तुको उत्पादन तथा विक्रीवितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन तथा विक्रीवितरण, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन, निर्माणजन्य सामग्री ढुवानी गर्न पाउने बाटो खोलिदिएको हो ।

सम्बन्धित स्थानीय तहमा गठित कोरोना रोकथाम समितिबाट अनुमति लिएर कृषि तथा पशुपक्षीसम्बन्धी, खाद्यवस्तु र अन्य बाली लगाउने र भित्र्याउने काम गर्न पाइने निर्णय सरकारले गरेको छ। राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ। त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखिएको छ। यसैगरी फलफूल र दुग्धजन्य वस्तुको उत्पादन र विक्रीवितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन गर्न पाइने भएको छ। गिट्टी बालुवा उत्पादन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ।

इन्टरनेट, सवारीसाधन वर्कशपलगायतका क्षेत्रहरुमा बढीमा ५ जना कामदार रहनेगरी सञ्चालन गर्न पाउने निर्णय पनि सरकरले गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा प्रदान गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ।

सार्वजनिक सेवाका क्षेत्रहरुमा एक चौथाइ सवारीसाधनलाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, उद्योगले खर्च व्यहोर्ने गरी श्रमिकलाई स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्ने तथा कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ।

अन्तर्राष्ट्रिय सीमा नाकाहरु जेठ १८ गतेसम्म बन्द भए पनि खाद्यान्नलगायत अत्यावश्यक सामग्री बोकेका सवारी सञ्चालन हुनेछन् भने शैक्षिक संस्था, सिनेमा घर, धार्मिक स्थल तथा मानिसको बढी भिडभाड हुने क्षेत्र बन्द रहने छन् ।

Womui
Womui