कोहलपुरको दक्षिण, खजुराको चारै सीमा बन्द, डुडुवा–६ का सबैटोल पूर्णरुपमा लकडाउन

119

छिनछिन खबर
नेपालगन्ज, वैशाख २२–

नेपालगन्जस्थित धम्बोझी चोकको सुनसान सडक ।

बाँकेको नेपालगन्जमा कोरोना भाइरसका संक्रमित देखिएपछि नेपालगन्जसँग सीमा जोडिएका कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले सीमानाका सिल गरेका छन् भने डुडुवा गाउँपालिकाको वडा नम्बर ६ मा पूर्ण रुपमा लकडाउनलाई कार्यान्वयनमा ल्याइएको छ ।

भारतीय सीमासँग जोडिएको नेपालगन्जको दक्षिण नाका कोहलपुरले बन्द गरेको छ । नेपालगन्जमा कोरोना सङ्क्रमण देखिएसँगै सुरक्षा सतर्कता अपनाउँदै कोहलपुर नगरपालिकाको दक्षिणतर्फको सीमा बन्द गर्ने र अन्य नाकामा कडा निगरानी गरेको कोहलपुर नगरपालिकाकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए । त्यस्तै कोहलपुर क्षेत्रमा लुकीछिपी प्रवेश गर्ने सक्ने नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ । नगरपालिकाभित्र हुने विकास निर्माणका कामसमेत बन्द गरिएको छ ।

नेपालगन्जसँगै जोडिएको खजुरा गाउँपालिकाले पनि सबै नाकाहरू बन्द गरेको छ । नेपालगन्जमा १६ जनामा कोरोना पोजेटिभ देखिएपछि त्यसलाई खजुरा गाउँपालिकामा फैल्न नदिने उद्देश्यले गाउँपालिकाको चारैतिरका नाका बन्द गर्ने निर्णय गरेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । खजुरा गाउँपालिकाभित्रका केही वडालाई पनि सिल गरिएको छ । वडा नम्बर ५, ६, ७ र ८ लाई पनि सिल गरिएको अध्यक्ष कक्षपतिले बताए ।

त्यस्तै नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढेपछि डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाको मुख्य मार्गबाहेक एक टोलबाट अर्को टोलमा आवतजावतमा कडाइ गर्ने निर्णय भएको छ । वडाध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको उपस्थिति रहेको थियो भने निर्णय कार्वान्वयनका लागि स्वयम् सेवक परिचालन गरिने भएको छ ।

Womui
Womui